धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, व्यवस्थापन, राहत लगायत शीर्षकमा करोडौं रुपैयाँ खर्च गरेको पाइएको छ । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रदेशका ८८ ओटै स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनका लागि मात्रै ६ करोड २५ हजार खर्च गरेको छ ।
यसैगरी तीन महीना लामो बन्दाबन्दी र त्यसबाट उत्पन्न कठिन परिस्थितिमा प्रदेशभित्रका श्रमिक वर्ग तथा असहायका लागि राहत उपलब्ध गराउन स्थानीय तहहरूलाई थप १५ करोड २६ लाख रुपैयाँ उपलब्ध गराइएको प्रदेश सरकारको तथ्यांक छ ।
प्रदेश सरकारले कोभिड–१९ को संक्रमण रोकथाम, जोखिम न्यूनीकरण, क्वारेन्टाइन तथा अन्य आपत्कालीन व्यवस्थापनका लागि भन्दै धनगढी उपमहानगरपालिकालाई ५ लाख, ३३ ओटा नगरपालिकालाई ४/४ लाखका दरले १ करोड ३२ लाख र ५४ गाउँपालिकालाई ३/३ लाखका दरले १ करोड ६२ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध गराइएको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।
कोभिड–१९ रोकथाम, राहत वितरण, आइसोलेसन लगायतका लागि गोदावरी नगरपालिका अत्तरिया, कैलालीले मात्र ३ करोड रुपैयाँ खर्च गरेको बताएको छ । यस्तै कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुरले सोही प्रयोजनमा करीब ३ करोड खर्च भएको बताएको छ ।
प्रदेश सरकार र स्थानीय तहहरूले कोभिड नियन्त्रणमा करोडौं रुपैयाँ खर्च गरेको पाइए पनि श्रमिक तथा आर्थिक रूपमा विपन्न परिवारले राहतको अनुभूति गर्न नपाएको भन्दै संघ, प्रदेश र स्थानीय सरकारको आलोचना गर्दै आएका छन् ।
प्रदेश सरकारले कोभिड–१९ को उपचार÷व्यवस्थापनका लागि भन्दै सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगर अन्तर्गत रहनेगरी ५०/५० शप्याको कोरोना विशेष उपचार अस्पताल स्थापना, सेती प्रादेशिक अस्पताल अन्तर्गत कोभिड–१९ विशेष प्रयोगशाला स्थापना तथा ५० शय्या क्षमताको आधुनिक प्रिफ्याब भवन निर्माण, सेती, बैतडी र डोटी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण वितरण तथा २० ओटा भेन्टिलेटरसहित आईसीयूका उपकरण खरीद गरी विभिन्न अस्पताललाई वितरण गरिसकिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।