ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्त–दोधारा चाँदनी जोड्ने पुल निर्माण ६५ प्रतिशत सम्पन्न

२०७७ फागुन, २०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनुरको भीमदत्त र दोधारा चाँदनीलाई जोड महाकाली नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । ३ अर्ब २९ करोड रुपैयाँ लगानीमा २०७५ सालदेखि निर्माण शुरू भएको चार लेनको उक्त पुलको भौतिक प्रगति ६५ प्रतिशतभन्दा बढी छ ।

भीमदत्त नगरपालिका–१२ र दोधारा चाँदनी नगरपालिका–१ लाई जोड्ने पुलबाट वारिपारि आउजाउ गर्ने मिल्ने अवस्था बनेको छ । निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनीयर किशोर पाण्डेयले पुलको महत्त्वपूर्ण निर्माण पूरा भएको बताए । चार लेनको पुलमा ३४ ओठा स्ल्याब रहेकोमा १५ ओटा निर्माण भइसकेको र बाँकीको ढलान शुरू भइसकेको जानकारी उनले दिए ।

चालू आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न हुने उनले बताए । उनका अनुसार पुलका पुलका ३४ ओटै पिलर बनिसकेका छन । पुलबाट दोधारा चाँदनीका स्थानीयले आवतजावत शुरू गरिसकेका छन् । इन्जिनीयर पाण्डेयका अनुसार उक्त पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म साढे ८ किलोमिटर पहुँच मार्ग कालोपत्रको काम समेत शुरू भएको छ । ८०० मिटरको लम्बाइ र २३ दशमलव ८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माणाधीन छ । ‘गड्डाचौकी–भुजेला सडकको करीब ९८ प्रतिशत भरान कार्य सकिएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘दुई लेयरमा सडक कालोपत्र गर्नुपर्नेमा पहिलो चरणको कालोपत्रको काम शुरू भएको छ ।’

दोधारा चाँदनीलाई सडक सञ्जालसँग जोड्ने पुलको काम हालसम्म सन्तोषजनक रहे पनि ठूला ढुंगाको अभावले भने प्रभावित हुन सक्ने देखिएको छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको तटबन्ध बनाउन ठूला ढुंगाको अभाव भएको छ ।

नदीलाई पुलको लम्बाइभित्र बगाउन दुवैतर्फ झण्डै साढे ५ किलोमिटर लामो तटबन्ध बनाउनुपर्छ । त्यसैका लागि ठूलो परिमाणमा ढुंगा आवश्यक परेको छ । इन्जिनीयर पाण्डेयले  तटबन्ध बनाउन १ लाख ४३ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताए । त्यसमध्ये करीब १ लाख घनमिटर ढुंगा २५७ किलोग्राम तौलको चाहिने उनको भनाइ छ । ‘महाकालीमा बाढी आउँदा ठूलो ढुंगा बगाउँदैन, त्यसका लागि चुरे क्षेत्र र खहरे खोलाको ढुंगा चाहिन्छ,’ उनले भने, ‘तर त्यहाँबाट ढुंगा ल्याउन अनुमति मिलेको छैन ।’

तटबन्ध बनाउन नसके वर्षात्मा नदी कटानले पुलमा असर पार्न सक्ने उनले बताए । ठेक्का सम्झौतामा उल्लेख भएको आयोजनास्थलको उत्तर पूर्वी क्षेत्र ब्रह्मदेव र वेदकोट नगरपालिका क्षेत्रका खोलानाला उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन (आईई) समेत गरिएको छ । त्यहीअनुसार निर्माण कम्पनीले केही दिनअघि खन्याखोलाबाट ठूला ढुंगा उठाउन थालेको थियो । तर स्थानीयले विरोध गरेपछि काम बन्द छ । महाकाली पुल आयोजनाका सूचना अधिकारी वीरेन्द्र चन्दले आयोजनालाई ठूला ढुंगा उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारसँग समन्वयका लागि पत्राचार भइसकेको बताए ।

उक्त पुलको निर्माणपछि दोधारा चाँदनीका बासिन्दा भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् । यस्तै कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि पुल महत्त्वपूर्ण माध्यम हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)