ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपा नाम विवाद : निर्वाचन आयोगको निर्णय सर्वोच्चबाट बदर

२०७७ फागुन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै सर्वाेच्च अदालतले बदर गरिदिएको छ ।

निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा नै दर्ता गरेको थियो ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वाेच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको छ ।

‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानूनबमोजिम आवश्यक निर्णय गर्नू/गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेशसमेत जारी गरिएको छ,’ फैसलामा भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको नेकपा दल २०७० साउन २२ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

निर्वाचन आयोगको फैसलालाई लिएर नेकपाका शीर्ष नेताहरूले फरकफरक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतले गरेको फैसला मान्ने बताउनुभएको छ । संसद् भवन नयाँ बानेश्वर पुग्नुभएका ओलीले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सर्वाेच्च अदालतको फैसला मान्छौं, एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछि मात्रै भन्न सकिन्छ । अहिले केही भन्न सकिँदैन ।’

यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरूले अपेक्षा गरेभन्दा फरक आएको बताए । ‘सर्वाेच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन तर पनि यो फैसला अनपेक्षित नै हो,’ सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)