ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनकोशी–मरिन डाइभर्सन आयोजना : चाइना ओभरसिजलाई यसै साता एलओए पठाइने

२०७७ फागुन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई यसै साता लेटर अफ असेप्टेन्स (एलओए) पठाउने भएको छ । ठेक्का सम्झौताको आह्वान गर्दै सिँचाइ विभागले उक्त कम्पनीलाई (एलओए) पठाउन लागेको हो ।

उक्त ठेक्काका लागि चीनकै सान्सी र सिनो हाइड्रोसहित तीनओटा कम्पनी अन्तिम प्रतिस्पर्धामा थिए । त्यसमा विभागले केही दिन अगाडि चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई छनोट गरेर लेटर अफ इन्टेन्ट (एलओआई) अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । साथै, अन्य कम्पनीलाई पनि यस सम्बन्धमा जानकारी दिएको थियो । त्यसपछि यसमा कतैबाट दाबी विरोध नआएपछि कम्पनीलाई ठेक्का सम्झौताका लागि एलओए दिन लागिएको हो ।

विभागका उपमहानिर्देशक कृष्णप्रसाद नेपालले अबको १/२ दिनमै उक्त कम्पनीलाई एलओए पठाउने जानकारी दिए । त्यसपछि कम्पनीसँग आयोजनाको सुरुङ खन्न ठेक्का सम्झौता हुने उनले बताए ।

उक्त आयोजनाअन्तर्गत सिन्धुलीको खुर्काेटमा रहको सुनकोशी नदीमा हेडवक्र्स बनाएर १३ दशमलव २ किलोमीटर लामो सुरुङबाट उक्त नदीको पानी सिन्धुलीकै कमलामाई नगरपालिकामा रहेको मरिन नदीको किनारमा पुर्‍याउने योजना छ । सोही सुरुङ निर्माण गर्न उक्त कम्पनीलाई छनोट गरिएको हो ।

सरकारले उक्त सुरुङ निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीले १० अर्ब ५ करोड रुपैयाँमा सुरुङ खन्ने भएको छ । चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूप भेरी–बबई डाइभर्सन आयोजनामा पनि सुरुङ खन्ने काम गरेको थियो ।

यस आयोजनाको सुरुङ पनि भेरी–बबईमै जस्तै अमेरिकी प्रविधिको टनेल बोरिङ मेशिन (टीबीएम) मार्फत नै खनिने विभागको भनाइ छ । भेरी–बबईमा उक्त प्रविधि सफल भएपछि यो आयोजनामा पनि प्रयोग गर्न लागिएको हो ।

ठेक्का पाउन लागेको कम्पनीले सम्झौतापछि विभागबाट उक्त प्रविधिको डिजाइन पास गरेर खरीद गर्नुपर्ने बताइएको छ ।

आयोजनाको सुरुङबाहेक अन्य पूर्वाधार निर्माणको ठेक्का लगाउन स्रोत भने जुटिसकेको छैन । सिभिलतर्फका हेडवर्क्स, सर्ज साफ्ट, पावरहाउस, हाइड्रोमेकानिकल लगायत पूर्वाधारको निर्माणका लागि पनि ठेक्का लगाउनुपर्ने छ । यससम्बन्धी आवश्यक कागजपत्र अर्थ मन्त्रालयमा पठाइसकिएको छ । स्रोत जुटेपछि ठेक्का लगाउने विभागका प्रवक्तासमेत रहेका नेपालको भनाइ छ ।

आयोजनाको मुआब्जा वितरण, रुख कटानीलगायत अन्य पूर्वतयारी भने पूरा भएको छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

उक्त आयोजनाको गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्नुभएको थियो । तर, कम्पनीसँग ठेक्कालगायत प्राविधिक प्रक्रिया पूरा गर्दा १ वर्षको हारहारीमा सुरुङ खन्ने काम शुरू हुने बताइएको छ ।

विशेषगरी यो आयोजना सिँचाइ केन्द्रित नै हुनेछ । आयोजनालाई २०७६ माघमा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी तथा मरिन नदीको पानीलाई बाँध बाँधेर प्रदेश नम्बर २ मा सिँचाइ सुविधा पुर्‍याउने योजना छ । आयोजनाबाट विशेषगरी बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ सुविधा पुग्नेछ । यसका अतिरिक्त पानी डाइभर्सन गर्दा २९ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने पनि योजना रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)