फागुन २५, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्र काम शुरु भएको छ । जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानी देखि फलेवास नगरपालिका–६ लमाएखोलासम्म कालोपत्र गर्न थालिएको हो । उक्त खण्डमा रहेको २३ किलोमिटर सडक कालोपत्र हुन थालेको कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जानकारी दिएको छ ।
कालोपत्रका लागि १ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रको काम शुरु भएको हो । दुई हप्तापछि सडक कालोपत्रको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिए । देवकोटाले आउँदो दुई वर्षभित्रै सडक कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।
कालीगण्डकी करिडोर दुई छिमेकी मुलुक भारत र चीन जोड्ने व्यापारिक मार्गको रुपमा चिनिन्छ । यो खण्ड पर्वत जिल्लाको मेरुदण्ड समेत हो । कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटदेखि पर्वतको मालढुंगासम्मको २४५ किलोमिटर सडकखण्डमध्ये गैँडाकोटदेखि राम्दीसम्मको १३१ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्र भइसकेको र चालू आर्थिक वर्षमा ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताए ।
करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रका लागि बाँकी रहेको छ । उक्त खण्डमा समेत अहिले ट्रयाक खोल्ने काम भइरहेको छ । चैत्र सम्ममा ट्रयाक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रका लागि प्रकृया अगाडी बढाईने प्रमुख देबकोटाले जानकारी दिए । पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीबेणी सम्मको ५३ किमि मध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमीमा सडक र सेतीबेणीदेखि रानीपानी सम्मको ७ किलोमिटर खण्डमा कालोपत्र गर्ने काम भइरहेको छ ।
यस्तै करिडोरअन्तर्गत मालढुंगादेखि बेनी सम्मको सडकको स्तरोन्नतिका लागि हालै टेन्डर आह्वान भएको छ । सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो ।