ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनरुत्थानको विकल्प खोज्दै वीरगञ्जका होटेल व्यवसायी

२०७७ फागुन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारीबाट प्रभावित वीरगञ्जका होटेल व्यवसायी अहिले पुनरुत्थानको वैकल्पिक उपायको खोजीमा छन् । अहिलेसम्म बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानका गतिविधिका कारण धानिएका यहाँका होटेलहरू अब भारतीय पर्यटक तान्ने योजनामा अघि बढेका छन् ।

केही वर्ष अघिसम्म औद्योगिक र व्यापारिक प्रतिष्ठानका पाहुनालाई लक्षित गरी खुलेका होटेल अहिले भारतीय पर्यटक भित्र्याउने योजनामा तल्लीन रहेको होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जमा होटेलको संख्या बढ्नु र औद्योगिक गतिविधि अपेक्षित रूपमा बढ्न नसकेपछि पर्यटक र अन्य उपायमा लाग्नु परेको व्यवसायीको भनाइ छ ।

केही होटेलले सीमावर्ती भारतीय क्षेत्रबाट विवाहका लागि आउने पाहुनालाई पनि लक्षित गरेका छन् । वीरगञ्जमा स्तरीय होटेल र पार्टी प्यालेसहरूले वैवाहिक कार्यक्रमका लागि उपयुक्त पूर्वाधार बनाएको टाउन हल पार्टी प्यालेसका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए ।

कोरोना महामारीका कारण थलिएको होटेल व्यवसायलाई लयमा फर्काउन होटेल तथा पर्यटन व्यवसायी संघले स्थानीय सरकारसँग सहकार्य गरेको छ । वीरगञ्ज महानगर र पर्यटनसँग सम्बद्ध निकायसितको सहकार्यमा होटेल व्यवसायको पुनरुत्थान अभियान नै सञ्चालन गरिएको पन्तले जानकारी दिए ।

यस अभियानअन्तर्गत नेपाल र भारतका विभिन्न स्थानमा १६ ओटा इभेन्ट आयोजना गरिनेछ । बुधवार वीरगञ्जमा यस अभियानको औपचारिक थालनी हुने पन्तले बताए । नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती क्षेत्रमा वीरगञ्जको पर्यटकीय आकर्षणको प्रचारप्रसार गर्ने उद्देश्यले यो अभियान चलाइएको महानगरका प्रमुख विजयकुमार सरावगी बताउँछन् ।
नेपाल र भारतका सम्भावित क्षेत्र र वीरगञ्ज आसपासका पर्यटकीय गन्तव्यहरूबीच सहसम्बन्ध विकास गरिने योजना प्रमुख सरावगीले सुनाए । यसबाट वीरगञ्जको होटेल र पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उनको थियो ।

भारतबाट स्थलमार्ग भएर भित्रिने पर्यटकलाई वीरगञ्ज क्षेत्रमा केही दिन राख्न सक्ने गरी पर्यटकीय प्याकेज बनाइने अभियन्ताहरूले बताएका छन् । तराई–मधेशका पर्यटकीय सम्भाव्यताको उजागर र प्रचारप्रसारको अभियान यस क्षेत्रकै समृद्धिको आधार बन्न सक्ने दाबी भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफको छ ।

कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको सीमा नाकाबाट अझै पनि सवारीसाधनको आवागमन खुला नगरिएकाले भारतीय पर्यटक भित्र्याउन कठिन भएको गुनासो व्यवसायीको छ । ‘मानिसको आवतजावत पूर्ववत् अवस्थामै भइरहेको छ ।

सवारीसाधन आउजाउ गर्न नदिएकाले भारतीय पर्यटक आउन हितकिचाइरहेका छन्,’ पन्तले भने ।

सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सवारीसाधनलाई अनुमति नदिइएको बताएको छ । सिमानामा अन्य आवागमन सामान्यजस्तै भइसकेको अवस्थामा सवारीसाधनमात्र रोक्नुको औचित्य नरहेको भन्दै होटेल व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

सरकारले हाम्रो उचित आग्रहसमेत सम्बोधन गर्न नचाहेकाले पुनरुत्थानको उद्देश्य अवरुद्ध भएको व्यवसायीहरू बताउँछन् । औद्योगिक र आर्थिक शहर वीरगञ्जमा ठूला/साना ६० ओटा आवासीय होटेल सञ्चालनमा छन् । वीरगञ्ज क्षेत्रमा चारतारे स्तरसम्मका होटेल खुलेका छन् । एक दर्जन हाराहारीमा पार्टी प्यालेस सञ्चालनमा छन् ।

वीरगञ्ज क्षेत्रमा खुलेका होटेलमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको व्यवसायीहरूको अनुमान छ । औद्योगिक क्षेत्रका पाहुनालाई मात्र लक्षित गर्दा वीरगञ्जको होटेल व्यवसायले थप नयाँ लगानी थेग्न नसक्ने र लगानीमै जोखिम निम्तिने बुझाइ पन्तको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)