पर्वत । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको पर्वत खण्डमा कालोपत्रको काम शुरू भएको छ । जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–६ लमायखोलासम्म कालोपत्र गर्न थालिएको हो । यो खण्डको २३ किलोमिटर सडक कालोपत्र हुन थालेको कालिगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाले बताएको छ ।
कालोपत्रका लागि १ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सडक कालोपत्रको काम शुरू भएको हो । दुई हप्तापछि सडक कालोपत्रको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए । आउँदो २ वर्षभित्रै सडक कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
कालीगण्डकी कोरिडोरले दुई छिमेकी मुलुक भारत र चीन जोड्छ । कोरिडोर अन्तर्गत गैंडाकोटदेखि पर्वतको मालढुंगासम्मको २४५ किलोमिटर सडक खण्डमध्ये गैंडाकोटदेखि राम्दीसम्मको १३१ किलोमिटर कालोपत्रको काम धमाधम भइरहेको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्र भइसकेको र चालू आवभित्रै ७० किलोमिटर कालोपत्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताए ।
कोरिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्र कालोपत्र गर्न बाँकी छ । उक्त खण्डमा अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । चैतसम्ममा यो काम सकेर कालोपत्रका तयारी अघि बढाइने देवकोटाले जानकारी दिए । पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किलोमिटरमध्ये मिर्मीदेखि सेतीवेणीसम्म ७ किलोमिटर र सेतीवेणीदेखि रानीपानीसम्म ७ किलोमिटर खण्डमा कालोपत्रको काम भइरहेको छ । यस्तै मालढुंगादेखि बेनीसम्मको सडक स्तरोन्नतिका लागि हालै टेन्डर आह्वान भएको छ ।