ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकारको गृहकार्य

म्यानपावर व्यवसायीको विरोध

२०७७ फागुन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले कतारको रोजगारीमा (जीटुजी) प्रक्रियामार्फत आफैले कामदार पठाउन छलफल थालेको छ । कतार पुलिसमा भर्ती गराउने भन्दै केही म्यानपावर व्यवसायीले अवैध धन्दा नै सञ्चालन गरेको भन्दै सरकारले जीटुजी माध्यमबाट कामदार पठाउने गरी छलफल अघि बढाएको हो ।

कतारको विश्वकपका लागि आवश्यक पर्ने जनशक्ति जीटुजी मोडलमार्फत पठाउन गृहकार्य अघि बढिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार यसबारे कतार सरकारसँग कूटनीतिक छलफलको प्रयाससमेत भएको छ । तर, सरकारले यसबारे निर्णय भने गरिसकेको छैन ।

कतारसँगको पुरानो श्रम समझदारी नै संशोधन गरेर सरकारका तर्पmबाटै श्रमिक पठाउने श्रम मन्त्रालयको तयारी छ । ‘यसका लागि मन्त्रालयले छिट्टै विज्ञ टोलीसँग छलफल गर्दै छ,’ मन्त्रालय स्रोतले भन्यो ।

आइतवार मात्रै श्रममन्त्री गौरीशंकर चौधरीले एक कार्यक्रममा जीटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी भएको खुलासा गरेका थिए । सरकार आफैले कतारमा कामदार पठाउन राजदूतसँग समेत छलफल भएको उनको भनाइ थियो । श्रम मन्त्रालयका अनुसार कतार पुलिसमा पठाएर लाखौं असुल्ने योजनामा गिरोहहरू लागिरहेका छन् । मुख्यतः भारत, श्रीलंकासहितका बाह्य मुलुकलाई ट्रान्जिट प्वाइन्ट बनाएर कतार पुलिसका लागि एजेन्टहरूले नेपालीहरू लगिरहेको सरकारी अनुसन्धानबाट पाइएको छ । त्यसलाई निस्तेज गर्न पनि जीटुजी प्रणाली अवलम्बन गर्नेबारे गृहकार्य अघि बढाउनुपरेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जीटुजी र बीटुजी माध्यम कुनबाट कामदार पठाउने भन्नेबारे अझै निर्क्योल नभए पनि छलफल भने तीव्र गतिमा अघि बढेको र छिट्टै निर्णय आउने बताए । सरकारले जीटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी गरेकोप्रति वैदेशिक रोजगार व्यवसायीले आपत्ति जनाएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले कतारमा कामदार पठाउन जीटुजी सम्झौता भए त्यसको सशक्त विरोध गरिने उनले बताए । ‘रोजगारीमा सरकार आफैले पठाउने भए कम्पनीको लाइसेन्स हामीलाई किन दिएको ?’ उनले भने, ‘हामीलाई काम गर्न दिनुपर्छ ।’ व्यवसायीले आफ्नो श्रम र स्रोत लगानी गरी सम्पूर्ण पूर्वाधार तयार गरिसकेको अवस्थामा सरकारले व्यवसाय कब्जामा लिने प्रवृत्ति कानूनविपरीत रहेको उनको जिकीर थियो ।

चर्काे रकम असुल्ने अभिप्रायले कतार पुलिसका लागि अवैध अन्तर्वार्ता लिन लागिएको थाहा पाएपछि सरकारले केही दिनअघि केही म्यानपावर कम्पनीमा छापा मारेको थियो । त्यसपछि सरकार आफैले कामदार पठाउने गरी तयारी अघि बढाएको मन्त्रालय स्रोतको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)