ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला औद्योगिक ग्राम स्थापनाको तयारी : २ वर्षभित्र सञ्चालनमा आउने

२०७७ फागुन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडाैं । सरकारले सातओटै प्रदेशका विभिन्न स्थानहरूमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरू भएको छ । केन्द्र र स्थानीय सरकारको सहकार्यमा उद्यमशील महिलाहरूको पहलमा काभ्रेपलाञ्चोकको पाँचखालमा ‘महिला उद्यमी हरित ग्रामीण क्षेत्र’ स्थापना गर्न लागिएको हो ।

संस्थागत रूपमा महिला उद्यमशीलता विकास गर्न नेपालमा पहिलोपटक महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो । यसका लागि विभिन्न महिला उद्यमीहरूको पहलमा पाँचखालमा ३० वर्षका लागि उक्त रोपनी जग्गा भाडामा लिइसकिएको छ । महिला उद्यमी तथा साउन एशियन वुमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला रिजालले ग्राम स्थापनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी शुरू भएको जानकारी दिइन् ।

२ वर्षभित्र ग्राम सञ्चालन गरिने र त्यहाँ १२ ओटा उद्योग स्थापना हुने रिजालले जानकारी दिइन् । महिलाले मात्रै सञ्चालन गर्ने  ती उद्योगहरू कृषिउपज, फलफूल उत्पादन तथा प्रशोधन लक्षित हुनेछन् । नयाँ प्रविधि ल्याउने, नयाँ तालीम, अनलाइन मार्केटिङसम्मका तालीम दिने तयारी पनि गरिएको छ । स्थानीय महिलालाई बढी प्राथमिकता दिए पनि उद्यम तथा उद्योग स्थापना गर्न चाहनेले पनि सहभागी हुन पाउनेछन् ।

स्वदेशमै रहेका अवसर पहिचान र नेपालले आयात गर्ने वस्तुहरूको अवस्था विश्लेषण गर्दा कृषिक्षेत्रमा अधिक सम्भावना अधिक देखिएको भन्दै उनले नेपालमा पहिलोपटक महिला उद्यमी तथा महिलालाई लक्षित गरेर नै ग्राम स्थापनाको तयारी गरिएको बताइन् । ‘कृषिक्षेत्र अर्थात् खाद्यान्न, फलफूल, तरकारी सधैंको आवश्यकता हो, यसको उत्पादनलाई व्यावसायिक बनाएर बजार लिन सक्छाैं,उनले भनिन्,‘यी वस्तुको आयातमा अर्बाैं रकम बाहिरिएकाले यसलाई प्रतिस्थापन गरी आत्मनिर्भर बन्न आवश्यक छ ।’

भारतमा पनि यस्ता अवधारणाले महिला उद्यमशीलता विकासमा टेवा पु¥याएको पाइएकाले नेपालमा समेत यस्ता योजना कार्यान्वयनले महिला उद्यमशीलता विकास र महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने देखिएको उद्यमी बताउँछन् । सरकारले स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि, शीप र लगानीमार्फत लघु, घरेलु तथा साना उद्योग सञ्चालन गरी रोजगारी सृजनाका लागि गत आर्थिक वर्षदेखि हालसम्म मुलुकभर ५८ ओटा औद्योगिक ग्राम घोषणा गरिसकेको छ ।

छरिएर रहेका साना उद्योगलाई एकीकतृ तथा व्यवस्थित गर्दै  उत्पादकत्व बढाउन सकिने भन्दै सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ । त्यसलाई उपयोग गरी महिला उद्यमशीलता विकास गरी उनीहरूको आर्थिक अवस्था सहज बनाउन र उत्पादन बढाउन महिलालाई मात्रै लक्षित गरी यस्तो ग्राम स्थापना गर्न लागिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)