ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीनामा ७८३ अर्ब बजेट खर्च गरिँदै

२०७७ फागुन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले आगामी ४ महीना अवधिमा चालू आवको बजेट अन्तर्गत ७ खर्ब ८३ अर्ब बजेट खर्च गर्दै छ । विगतमा जस्तै आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रवृत्तिलाई यस वर्ष पनि निरन्तरता दिँदै सरकारले उक्त खर्च गर्न लागेको हो ।

विगत ३ वर्षदेखि कम्युनिष्ट सरकारले बजेट खर्च प्रणालीमा सुधार ल्याइएको दाबी गर्दै आए पनि खर्चको प्रवृत्ति हेर्दा परिणाम निकै कमजोर देखिएको छ ।

चालू आवका लागि १४ खर्ब ७४ अर्ब बजेट ल्याएको सरकारले मध्यावधि समीक्षामार्फत कुल बजेटको आकार घटाउँदै १३ खर्ब ४४ अर्बमा झारेको थियो ।

सरकारी खर्चको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बितेको ८ महीनामा कुल संशोधित बजेटमध्ये सरकारले ५ खर्ब ६१ अर्ब मात्रै खर्च गरेको देखिन्छ । यसरी हेर्दा अबको चैत, वैशाख, जेठ, असार अर्थात् (४ महीना)को अवधिमा सरकारले ७ खर्ब ८३ अर्ब खर्च गर्नुपर्ने दायित्व छ ।

८ महीना सकिनै लाग्दा सरकारले विकास बजेटभन्दा पनि चालू बजेट धेरै खर्च गरेको छ । फागुन २६ सम्ममा सरकारले चालूतर्फ ४ खर्ब ५० अर्ब बजेट खर्च गरिसकेको छ भने विकास खर्चको अवस्था गत आवको भन्दा पनि कमजोर छ । गत आवको यस अवधिमा ९२ अर्ब ७७ करोड विकास खर्च गरेको सरकारले चालू आवमा ७६ अर्ब मात्रै खर्च गरेको छ ।

सरकारले अबको ४ महीना अवधिमा चालूतर्फ ४ खर्ब ६४ अर्ब, पूँजीगततर्फ २ खर्ब ९ अर्ब र वित्तीयतर्फ १ खर्ब ९ अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्नेछ ।

मध्यावधि समीक्षामार्फत सरकारले चालू आवमा कुल बजेट ९१ प्रतिशतभन्दा बढी खर्च हुने बताएको थियो । लक्ष्य भेट्न भए पनि सरकारले आगामी ४ महीनामा ठूलो मात्रामा बजेट खर्च गर्दै छ ।

अर्थविद् विश्वम्भर प्याकुरेल आर्थिक वर्षको अन्त्य नै पारेर हुने बजेट खर्च प्रभावकारी नहुने बताउँछन् । बजेट लक्षित कार्यक्रमका लागि नीतिगत व्यवस्थापनमा नेतृत्व चुक्दा खर्च सुस्त हुने गरेको उनको बुझाइ छ । अर्थ मन्त्रालयका अनुसार आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्ययोजना संशोधनको प्रक्रिया अघि बढिसकेको छ । ‘कार्ययोजना प्रभावकारी कार्यान्वयन लगेर अनुशासित ढंगले बजेट खर्च गरिनेछ,’ बजेट महाशाखाका एक उच्च अधिकारीले भने ।

उनका अनुसार बजेट खर्च दुरुपयोग हुन नदिन अनुगमन तथा मूल्यांकनलाई समेत मन्त्रालयले तीव्र पार्दै छ । चालू आर्थिक वर्षमा मेलम्ची खानेपानी, सिक्टा सिँचाइ, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नेगरी नै काम अघि बढेकाले आर्थिक वर्षको अन्त्यमा खर्च बढ्ने अर्थका अधिकारीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)