ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेपको ब्याजदर बढ्ने संकेत

निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर

२०७७ फागुन, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन ।

पछिल्ला २ सातामा भने निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

परिणामस्वरूप फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्बको भएको छ । सो अवधिमा निक्षेप १४ अर्बले थपिदाँ कुल निक्षेप ३८ अर्ब २३ अर्ब संकलन भएको छ ।

कर्जा प्रवाह बढ्दा तरलतामा समेत दबाब पर्न थालेको छ, जसका कारण बैंकहरूबीच अन्तरबैंक ब्याजदर ह्वात्तै बढेको छ । फागुन २५ गते मात्रै छोटो अवधिका लागि एक बैंकले अर्को बैंकबाट लिएको सापटीको अन्तरबैंक ब्याजदर २ दशमलव ९९ प्रतिशतसम्म पुगेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

जबकी १ साताअघि १ दशमलव शून्य ५ प्रतिशत यस्तो ब्याजदर थियो । ‘अहिले कर्जाको माग बढेको छ । बैंकहरूलाई प्रवाह गर्न आवश्यक छ तर तरलतामा दबाब नपार्न स्रोतको व्यवस्थापनमा बैंकहरूले ध्यान दिन जरुरी छ । अहिले कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशतसम्म भएकाले हाल बैंकहरूको यस्तो अनुपात औसत ७७ प्रतिशत पुगेको छ,’ भट्टले भने ।

बैंकरहरू भने अन्तरबैंक ब्याजदरको दबाबले निक्षेपको ब्याजदर बढ्न सक्ने सम्भावना देखिएको बताउँछन् । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अब अन्तरबैंक ब्याजदरले निक्षेपमा समेत प्रभाव पर्न थालेको बताए ।

‘करीब ३ प्रतिशत हाराहारी अन्तरबैंक ब्याजदर भएकाले यसको दबाब निक्षेपमा पर्न सक्छ । किनभने, सस्तोमा सापटी लिएर धेरै ठाउँमा प्रयोग गरिरहेकाले यसको असर देखिन सक्छ । यसले साधारण बचतको ब्याजदर बढ्ने सम्भावना छ,’ उनले भने ।

बचतको न्यूनतम ब्याजदरसँग मुद्दतीको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा बढी अन्तर पार्न नहुने निर्देशन दिइएकाले अब पहिलाजस्तो ब्याजदर बढाउन सजिलो नभएको उनको तर्क छ । कर्जाको ब्याजदर निक्षेपसँग सम्बद्ध हुने भएकाले एकैपटक नबढ्ने र त्रैमासिक आधार दरअनुसार परिवर्तन हुने उनले जानकारी दिए ।

भट्टका अनुसार अब अलिकति बचतको ब्याजदर बढाएर मुद्दती बढाउने र संस्थागत निक्षेप तान्ने प्रयास हुने हुँदा आधार दर बढ्न सक्छ । हाल एकल अंकमा पाइँदै आएको कर्जाको ब्याजदर दोहोरो अंकमा बढ्न सक्नेसमेत भट्टको अनुमान छ ।

गत फागुन दोस्रो साता पनि निक्षेप संकलन थप १० अर्बले वृद्धि हुँदा कर्जा प्रवाह थप २७ अर्बले बढेर कुल कर्जा प्रवाह ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो । यस्तै, फागुन पहिलो साता निक्षेप संकलन १३ अर्ब रुपैयाँले वृद्धि भई कुल ३७ खर्ब ९९ अर्ब पुगेको थियो भने समग्रमा वाणिज्य बैंकको व्यवसायमा सुधार भएर १८ अर्ब रुपैयाँको थप कर्जा प्रवाह भएको थियो ।

उक्त थप कर्जा प्रवाह भएसँगै फागुन पहिलो सातासम्म कुल ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाहमा रहेको थियो । माघ पहिलो सातादेखि संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह वृद्धि हुँदै गएको थियो । तर, माघ दोस्रो साता ११ अर्बले वृद्धि हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो ।

माघको चौथो साता अर्थात् माघ २३ गतेसम्म सातामै २० अर्ब रुपैयाँले लगानी बढ्दा कुल कर्जा प्रवाह ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी माघको अन्तिम साता २९ अर्ब रुपैयाँले कर्जा प्रवाह थपिँदा कुल कर्जा ३३ खर्ब १७ अर्ब पुगेको थियो ।

यसैगरी गत माघ अन्तिम साता साप्ताहिक निक्षेप वृद्धिदर ५ अर्बले बढेर कुल निक्षेप ३७ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको थियो । तर, माघ पहिलो साता यस्तो निक्षेप साप्ताहिक ३ अर्बले घटेर ३७ खर्ब ७९ अर्ब र माघ दोस्रो साता १० अर्बले घटेर कुल ३७ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित थियो । माघको तेस्रो सातामा आइपुग्दा यस्तो निक्षेप थप १० अर्ब रुपैयाँले वृद्धि भएको थियो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पछिल्लो समय आयात धेरै बढेकाले पनि कर्जा माग वृद्धि भएको बताउँछन् ।

‘पूँजीगत वस्तु, कच्चा पदार्थ, मेशिनरी पार्टदेखि फलामका वस्तुको आयात बढेको छ । करीब ९–१० महीना चैतदेखि पुससम्म अर्थतन्त्र सञ्चालनमा थिएन । माघदेखि अर्थतन्त्र क्रमशः सञ्चालनमा आउन थालेको थियो,’ उनले भने ।

यद्यपि केन्द्रीय बैंकले ८५ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जाबापतको रकम बैंकहरूलाई दिइसकेको छ । ‘पुससम्म २ खर्ब रुपैयाँको अधिक तरलता थियो । त्यसैले २ खर्ब अधिक तरलता, ८५ अर्ब पठाएको पुनर्कर्जा हुँदा पनि अहिले तरलता कसिलो हुन थालेको अवस्था छ । यस हिसाबले ३ खर्बभन्दा बढी अधिक तरलता हुनुपर्नेमा फागुन २६ गते करीब ४० अर्ब रुपैयाँ अधिक तरलता छ,’ प्रवक्ता डा. भट्टले भने ।

सिटिजन्स इन्टरनेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेल अहिले बजारमा कर्जा माग बढेसँगै तरलतामा दबाब पर्‍यो भनेर आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताउँछन् । उनका अनुसार केन्द्रीय बैंकको सहुलियतपूर्ण कर्जा, प्राथमिकता प्राप्त कर्जा, पुनर्कर्जाले गर्दा कर्जा धेरै गएको देखिएको मात्रै हो । ‘समग्रमा बैंकहरूमा कारोबार राम्रो छ । अहिले जलविद्युत्को लगानी चम्केको छ । भएकै संस्थाहरूको सञ्चालन खर्चका लागि कर्जा लिन पाउने व्यवस्थाले पनि कर्जा प्रवाह बढेको देखिएको छ,’ उनले भने । सवारी कर्जा, घर कर्जाहरूमा पनि माग बढेकाले कोभिड अगाडिजस्तै हुन थालेको उनको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)