ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी

२०७७ चैत, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाकोे तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । तर, बीमा समितिले गत फागुनको तेस्रो साता नयाँ पुनर्बीमा कम्पनीको आवश्यकताको विषयमा समिति नै बनाएर अध्ययन अगाडि बढाएको छ । त्यसपछि बजारमा अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको तयारी करीब १ वर्षअघि नै अघि बढाइएको थियो । यसबाहेकका प्रस्तावित पुनर्बीमा कम्पनीहरू खोल्ने प्रक्रिया भने हालै अगाडि बढाइएको हो ।
यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ पुनर्बीमा स्थापना गर्नुपर्नेमा जोड दिँदै आएका थिए । केही योजनाकारले त्यसपछि नै पुनर्बीमा कम्पनी स्थापना प्रक्रिया अगाडि
बढाएका थिए ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको आवश्यक प्रक्रिया साकार ल फर्मले आगडि बढाएको छ । उक्त ल फर्मले सम्बद्ध लगानीकर्तालाई कम्पनीको प्रबन्धपत्र, नियमावलीलगायत कागजपत्रको मस्यौदा पठाइसकेको छ । लगानीकर्ताबाट पारित भएर आएपछि यस विषयमा विस्तृत रूपमा खुलाइने उसले बताएको छ ।

प्रुडेन्सियल री इन्स्योरेन्स नामक कम्पनी स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको छ । यसमा विशेषगरी आईएमई र विशाल ग्रूपको लगानी हुने स्रोतले बताएको छ ।

यसैगरी काठमाडौं री इन्स्योरेन्सतर्फ बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट मुख्य योजनाकार रहेका छन् ।

योजनाकार भट्टराईले काठमाडौं री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताए । कम्पनी स्थापनाका लागि प्रबन्धपत्र, नियमावली बनाउने लगायत कानूनी कागजपत्र तयार भइसकेको जानकारी उनले दिए ।

‘हामीले योजना बनाएको २ हप्तामै आवश्यक कागजपत्र तयार पारिसकेका छौं । साथै, लगानीको प्रतिबद्धता पनि आइरहेको छ,’ उनले भने, ‘बीमा समितिले आवेदन खुला गर्नासाथ आवदेन दिन सक्ने अवस्थामा छौं ।’

उनका अनुसार कम्पनीको चुक्ता पूँजी १२ अर्बदेखि १५ अर्ब रुपैयाँसम्मको हुनेछ । त्यसमा ४० प्रतिशत शेयर संस्थागत लगानी हुनेछ भने ३० प्रतिशत शेयर व्यक्तिगततर्पmको हुनेछ । बाँकी ३० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाइनेछ । हाल कम्पनीका लागि व्यक्तिगततर्पmबाट ६ अर्ब बराबरको लगानी प्रतिबद्धता आइसकेको भट्टराईले बताए । ‘बैंक तथा बीमा कम्पनीलाई पनि लगानीका लागि प्रस्ताव पठाएका छौं ।

तर, उनीहरूको बोर्ड बैठकबाट यस सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘हामी इन्स्योरेन्ससम्बन्धी जानकार तथा अनुभवी व्यक्ति नै यसमा लागेका छौं । त्यसअनुसार अन्य क्षेत्रबाट पनि लगानी जुट्नेमा ढुक्क छौं ।’

कम्पनीले यसअघि १० अर्बको चुक्ता पूँजीमा कम्पनी स्थापना गर्ने भनेको थियो । अन्तरराष्ट्रिय रेटिङ कम्पनीहरूले १०० मिलियन डलरको पूँजी भएको कम्पनीलाई राम्रो ग्रेड दिने गर्छन् । १० अर्बलाई डलरमा रूपान्तरण गर्दा सो बराबरको पूँजी पुग्दैन । सोही विषयलाई दृष्टिगत गर्दै चुक्ता पूँजी बढाउने निर्णय गरिएको भट्टराईले बताए ।

जेन्युन री नामको कम्पनीको योजनाकारमा भने बीमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की, बीमाविज्ञ रवीन्द्र घिमिरे लगायत छन् । उक्त पुनर्बीमा कम्पनी स्थापनाको तयारी अगाडि बढाइएको कार्कीले बताए ।  

कम्पनीको चुक्ता पूँजी १० अर्बको बनाउने योजना छ । त्यसमा ३० प्रतिशत शेयर सूचीकृत कम्पनीहरूलाई दिइनेछ भने ४० प्रतिशत शेयर निजीक्षेत्र तथा व्यक्तिलाई दिने बताइएको छ । ३० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाउने योजना रहेको कार्कीले बताए । यसमा व्यक्तिगत लगानीकर्ताले न्यूनतम २५ लाख लगानी गर्नुपर्ने प्रावधान राखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने थप पुनर्बीमा कम्पनी आवश्यक भए÷नभएको सन्दर्भमा अध्ययन भइरहेको बताए । अध्ययनको प्रतिवेदन तयार भएपछि यस सम्बन्धमा उचित निर्णय गरिने बताए ।

प्रस्तावित पुनर्बीमा कम्पनीले पूर्णता पाउन सर्वप्रथम बीमा समितिले निश्चित कोटामा लाइसेन्स दिनेगरी आवेदन खुला गर्नुपर्नेछ । त्यसपछि प्रस्तावित कम्पनीले सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिनुपर्ने हुन्छ । समितिको सैद्धान्तिक स्वीकृतिपछि सम्बद्ध कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता हुन सक्नेछन् । त्यसपछि आवश्यक पूर्वाधार तयार भएपछि समितिले कारोबारको अन्तिम स्वीकृति दिन सक्नेछ । यता योजनाकारहरूले भने बीमा समितिले नयाँ पुनर्बीमाका लागि लाइसेन्स खुलाउनुपर्नेमा जोड दिएका छन् । ‘पुनर्बीमा आफैमा अन्तरराष्ट्रिय स्तरमै व्यवसाय गर्ने क्षेत्र हो,’ जेन्युन री इन्स्योरेन्सका योजनाकार कार्कीले भने, ‘यस अवस्थामा बीमा समितिले लाइसेन्स खुलाउन कन्जुस्याइँ गर्नु हुँदैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)