ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय बजारमा ३० मिलियन डलरको ऋणपत्र जारी गर्दै निफ्रा

नेपाली बीमा कम्पनीका लागि पनि ऋणपत्र ल्याउने तयारी

२०७७ चैत, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सैद्धान्तिक स्वीकृति पाएसँगै बैंकले अन्तरराष्ट्रिय बजारमा बन्ड निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।

निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो अर्थात् ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक कम्पनीले क्रेडिट र्‍यापिङ पनि गरिसकेको छ । निफ्राको अन्तरराष्ट्रिय रेटिङ नभएको हुनाले उक्त कम्पनीलाई यस्तो जिम्मा दिइएको हो । ग्यारेन्टको अन्तरराष्ट्रिय स्तरको ‘ट्रिपल ए’ रेटेड कम्पनी हो ।

हाल उक्त कम्पनीले नै ग्यारेन्टी बसेर निफ्राको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । निफ्राको ऋणपत्र विक्री नभएमा ग्यारेन्टको आफैले किन्नेछ । साथै, निफ्राले ऋणपत्रमा तोकेअनुसार लगानीकर्तालाई प्रतिफल दिन नसकेमा ग्यारेन्टकोले नै त्यो बराबरको भुक्तानी गर्ने गरी सम्झौता भएको छ ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको बताए । हाल यसका लागि ग्यारेन्टकोले नै आवश्यक काम गरिरहेको छ । ग्यारेन्टकोले अन्तरराष्ट्रिय बजारमा ऋणपत्रको बजार अध्ययन गर्ने, ब्याजदर निर्धारण गर्नेलगायत विषयमा काम गरिरहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतवार काठमाडौंमा आयोजना गरेको ‘नाफिज संवाद’मा उनले यस्तो बताएका हुन् । यसका लागि राष्ट्र बैंकसँग स्वीकृति लिएर आवश्यक प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । उनले भने, ‘राष्ट्र बैंकले हामीलाई ऋणपत्र निष्कासनको आवश्यक प्रक्रिया अगाडि बढाउन स्वीकृति दिए पनि पछि अन्तिम स्वीकृति लिनुपर्ने भने हुन सक्छ । आवश्यक प्रक्रिया अगाडि बढिसकेकाले चालू आवमै यो ऋणपत्र निष्कासन हुन सक्ने अपेक्षा गरेका छौं ।’

नेपालीहरूले अन्तरराष्ट्रिय बजारबाट उक्त ऋणपत्र किन्न पाउने छैनन् । गैरआवासीय नेपालीले भने यसमा लगानी गर्न पाउने खतिवडाले बताए ।

ऋणपत्र निष्कासन प्रक्रिया अगाडि बढाए पनि ऋणपत्रको अवधि, त्यसमा दिइने ब्याजदरको विषय भने अझै टुंगो लागेको छैन । यद्यपि, बढीमा ८ दशमलव ५ प्रतिशत ब्याज दिने गरी अध्ययन गरिएको छ । साथै, ऋणपत्रको अवधिको विषयमा छलफल भइरहेको सीईओ खतिवडाले बताए ।

‘ऋणपत्रमा अन्तरराष्ट्रिय बजारमा कति ब्याज दिइरहेका छन्, अहिले त्यही विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘बढीमा ८ दशमलव ५ प्रतिशत ब्याजदरको क्याप राखेर अध्ययन अगाडि बढाएका छौं ।’

उक्त ऋणपत्र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने उनले बताए । ‘अहिलेसम्मको योजनाअनुसार लन्डन स्टक एक्सचेन्जमै ऋणपत्र सूचीकृत गर्ने भनेका छौं । यद्यपि, यस विषयमा छलफल भइरहेको छ,’ उनले भने । यसअघि बैंकले ५० मिलियनदेखि १५० मिलियन डलरसम्मको ऋणपत्र निष्कासन गर्ने योजना बताएको थियो । हाल बैंकको अन्तरराष्ट्रिय रेटिङ भएको छैन । त्यसमाथि अन्तरराष्ट्रिय बजारमा पूर्णतः नयाँ बैंक भएकाले पनि यसपटक ३० मिलियन डलरको हाराहारीमा ऋणपत्र निष्कासन गर्न लागिएको हो ।     

‘अब पहिलो ऋणपत्रले कस्तो प्रभाव पार्छ, त्यसैको आधारमा दोस्रोपटक ठूलो मात्रामा ऋणपत्र निष्कासन गर्छाैं,’ खतिवडाले भने ।

यसैगरी नेपालका बीमा कम्पनीका लागि पनि छुट्टै ऋणपत्र जारी गर्नेगरी पहल थालिएको उनले बताए । यसका लागि राष्ट्र बैंकमा प्रस्तावना पेश गर्ने तथा बीमा कम्पनीसँग छलफल गर्ने काम भइरहेको उनको भनाइ छ ।

‘बीमा कम्पनीको नाममा ऋणपत्र जारी गर्ने विषयमा केही प्राविधिक समस्या छन् । उनीहरूले हाम्रो ऋणपत्रमा लगानी गर्न पाउँछन् कि पाउँदैनन्, हामीले केकस्ता सुविधा दिएमा उनीहरूले लगानी गर्छन् भन्नेजस्ता विषयमा अध्ययन तथा छलफल भइरहेको उनले बताए । ‘समग्रमा हामी इन्स्योरेन्स कम्पनीका लागि पनि ऋणपत्र ल्याउने योजनामा छौं,’ उनले भने, ‘तर, प्राविधिक समस्याका कारण त्यसमा ढिलाइ हुन सक्छ ।’ निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल भइरहेको जानकारी खतिवडाले दिए । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकैपटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’ उनले भने ।

विशेषगरी राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने योजनासहित नेपाल सरकारकै स्वामित्वमा २ वर्षअघि यो बैंक स्थापना गरिएको थियो । पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने, धितोपत्र बजारमा लगानी गर्ने र परियोजना निर्माणमा स्रोत जुटाउने पनि यस बैंकको मुख्य कार्यक्षेत्रअन्तर्गत पर्छ ।

हाल २० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकमा सरकारको १० प्रतिशत, निजीक्षेत्रको १० प्रतिशत, पब्लिक कम्पनीको ४० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)