ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरियाबाट फर्केर वालपेपर एण्ड होम डेकोर व्यवसाय सञ्चालन गर्दै जोशी 

३०० मेट्रिकटन क्षमताको कोल्डस्टोर स्थापनाको तयारी

२०७७ चैत, २  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

चैत २, धनगढी । कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका धर्मराज जोशीले धनगढीमा धनगढी वालपेपर सप्लायर्स एण्ड होम डेकोर नामक नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् । जोशीले सञ्चालन गरेको उक्त वालपेपर व्यवसाय सुदूरपश्चिममै पहिलो पटक सञ्चालनमा आएको हो ।

शुरुमा ५० लाख लगानी गरेर धनगढी उपमहानगरपालिका–१३ अत्तरिया–धनगढी सडक खण्डअन्तर्गत राजपुरमा होम डेकोरेशनका सामग्री कोरियन, इण्डियन र चाइनिज ब्राण्डका सामग्री आयात गरेर व्यवसाय शुरु गरेको सञ्चालक जोशीले बताए । व्यवसाय शुरु गरेको चार महीनाको अवधिमा उनले टिकापुर र महेन्द्रनगरमा शाखा विस्तार गरेका छन् भने बैतडीको खोड्पे र डडेल्धुरामा शाखा स्थापनाका लागि आवश्यक तयारी भइरहेको छ ।

उनले कोरियाबाट फर्किका एक हजार सुदूरपश्चिमेलीहरुलाई एकीकृत गरी धनगढीमा परिश्रमिक नामक बहुउद्देश्यी सहकारी समेत स्थापना गरेका छन् । कोरियामा रोजगारी गरेर स्वदेश फर्किका ५०० युवाहरुलाई सहकारीमा आवद्ध गरेर शेयर पूँजी हाल ५ करोड पुगेको र केहिदिन भित्रै थप २० करोड पु¥याउने लक्ष्यसहित शेयर सदस्य संख्या बढाउने प्रक्रिया थालिएको उक्त सहकारीका अध्यक्ष समेत रहेका जोशीले जानकारी गराए ।

सुदूरपश्चिम समाज कोरिया २०१५ का अध्यक्ष समेत रहेका जोशीले रोजगारीका लागि सुदूरपश्चिमबाट कोरियामा रहेका ५ हजार युवाहरुलाई सहकारीमा आवद्ध गरी सहकारीको माध्यमबाट कृषि सामग्रीको उत्पादन, बजारीकरण, सस्तो सहकारी मार्ट स्थापना तथा कोरियामा आर्जन गरेको सीपलाई आफ्नै भुमिमा सदुपयोग गरेर रोजगारी सिर्जना गर्न सहकारी स्थापना गरेको बताए । 

साथै, आफ्नै सहकारी मार्फत रेमिट्यान्स सेवाका लागि पनि काम भइरहेको उनले बताए । सहकारीमा जम्मा भएको कुल पुँजीको ५० प्रतिशत रकम सहकारी सस्तो मार्टमा लगानी गर्ने तयारी समेत भइरहेको बताइएको छ ।

त्यस्तै, धनगढी अत्तरिया क्षेत्रभित्र ३०० मेट्रिकटन क्षमताको शितभण्डार (कोल्डस्टोर) स्थापनाका लागि पनि आवश्यक तयारी अघि बढिसकेको जोशीले जानकारी गराए । मेरै अध्यक्षतामा कोल्डस्टोर स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ, उनले भने । 

यस प्रकारको व्यवसाय सञ्चालनको लागि लामो समय कोरियामा रोजगारी गरेर फर्केका अक्कलबहादुर सिंह उपाध्यक्ष, सुरेन्द्र भण्डारी सचिव र नवराज भट्ट कोषाध्यक्ष रहने गरी समिति समेत गठन गरिसकिएको छ ।

हरेक आवश्यकता नै योजनाको स्रोत भएको बताउँदै अध्यक्ष जोशीले प्रदेशमै पहिलो पटक वासप्लान्ट स्थापनाका लागि समेत आवश्यक प्रक्रिया अघि बढेको बताए । कोरियाबाट फर्किका ५ जना साथीहरुको संयुक्त लगानीमा चितवनपछिको सबैभन्दा ठूलो वासप्लान्ट ५ करोड लगानी गरेर खोल्दैछौँ, उनले भने ।

सस्तो मूल्यमा एक पटकमा १०० ओटा कपडा धुलाई गर्न मिल्ने गरी प्लान्ट जडानका लागि एक करोड रुपैयाँ खर्चेर चार कट्टा जमिन खरीद गरिसकेको उनले बताए । आगामी वैशाखभित्रै सञ्चालनमा ल्याउने गरी वासप्लान्ट निर्माणको काम भइरहेको उनको भनाइ छ ।

यसका साथै धनगढीमै हामीले उल्का नामक गार्मेन्ट स्थापनाको प्रक्रियालाई पनि सँगसँगै अघि बढाइसकेको जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेशबाट जति पनि रोजगारीका लागि कोरिया गएका छन् ती सबै युवाहरुलाई एकीकृत गरी सामुहिक रुपमा आफ्नै क्षेत्रमा व्यवसाय विस्तारसँगै त्यहाँ आर्जन गरेको सीपलाई उपयोग गर्दै नयाँ उद्यमी एवम् व्यवसाय उत्पादन गर्ने उद्देश्यले विविध व्यवसायको प्रक्रिया थालनी गरिएको कोरियाबाट हालै मात्र स्वदेश फर्किका वीरेन्द्र चन्दले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)