ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजारमा बीमा कम्पनीको आकर्षण

दोस्रो त्रैमासमा मात्रै रू. ३ अर्ब लगानी

२०७७ चैत, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएपछि बीमा कम्पनीहरू शेयर बजारतर्फ आकर्षित भएको पाइएको छ । बीमा कम्पनीहरूको मुख्य लगानीको क्षेत्र बैंकको निक्षेप हो ।

तर, कोरोना महामारीका कारण बैंकहरूले ब्याजदर घटाएपछि बीमा कम्पनीहरूले शेयर बजारमा लगानी बढाएका हुन् ।

पछिल्लोपटक नेपाली शेयरबजार बुलिश ट्रेन्डमा रहँदा बीमा कम्पनीहरूलाई लगानी गर्न प्रोत्साहन मिलेको छ ।

यद्यपि, पछिल्लो केही दिनयता शेयरबजार घटिरहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म शेयरबजार बढ्दो बुलिश ट्रेन्डमै रहेको थियो । सो अवधिमा शेयरमा लगानी बढाएको बीमा कम्पनीहरू बताउँछन् ।

चालू आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुस मसान्त) सम्म निर्जीवन र जीवन बीमा कम्पनीहरूले करीब ३ अर्ब रुपैयाँ लगानी गरेका छन् । बीमा समितिको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत असोज मसान्तसम्म शेयरबजारमा बीमा कम्पनीहरूको लगानी २१ अर्ब ७४ करोड रुपैयाँ थियो । तर, पुस मसान्तमा यस्तो लगानी २४ अर्ब ६६ करोड पुगेको छ ।

दोस्रो त्रैमासमा मात्र बीमा कम्पनीहरूले शेयरमा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ लगानी थपेको देखिन्छ । यसबीचमा शेयरबजार बढेकाले अधिकांश कम्पनीले शेयर विक्री गरेर नाफा कमाएका छन् । त्यसको असरले चालू आवको दोस्रो त्रैमासमा कम्पनीहरूको नाफा पनि ≈वात्तै बढेको थियो । यस अवधिमा शेयरबजारमा लगानीसँगै विक्री पनि गरिएको कम्पनीहरू बताउँछन् ।

हाल नेपालमा २० निर्जीवन र १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा निर्जीवन बीमा कम्पनीतर्पm द ओरियन्टल एवं जीवन बीमातर्पm मेट लाइफ र महालक्ष्मी लाइफले भने शेयरबजारमा लगानी गरेका छैनन् ।

जीवन बीमा कम्पनीहरूले १८ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन् । गत असोज मसान्तसम्म जीवन बीमा कम्पनीको शेयरबजारमा १६ अर्ब ३४ करोड शेयर थियो । सोहीअनुसार दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूले मात्र रू. २ अर्ब ५३ करोड लगानी बढाएका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरूले पछिल्लो ३ महीनामा ४० करोड रुपैयाँ लगानी शेयरबजारमा थपेका छन् ।

गत असोज मसान्तसम्म शेयरबजारमा निर्जीवन कम्पनीहरूको ५ अर्ब ३९ करोड रुपैयाँ लगानी रहेको थियो । पुस मसान्तसम्म यस्तो लगानी ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूले कुल लगानीयोग्य रकमको १० प्रतिशतसम्म शेयरमा लगानी गर्न पाउने प्रावधान छ । सोहीअनुसार कम्पनीहरूले शेयरबजारमा लगानी गर्दै आएका छन् ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षत्रीले बैंकको ब्याजदर घटेको अवस्थामा शेयरबजारमा लगानी बढाइएको बताए । साथै, शेयरबजार बढ्दो क्रममा हुँदा पनि शेयरमा लगानी बढेको हुन सक्ने उनको बुझाइ छ ।

‘अहिले शेयरबजार घट्न थालेको छ । यसअघि बढेका बेला शेयर कारोबार गरेका कम्पनीले राम्रो आम्दानी गरेजस्तो लाग्छ’, उनले भने, ‘यद्यपि, कतिपयले दीर्घकालीन लगानी गर्ने भन्दै शेयर होल्ड गरेका पनि हुन सक्छन् ।’ प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईले पछिल्लो समय शेयरमा लगानी लगानी बढेको बताए । बैंक ब्याजदर कम हुने, शेयरबजार बढ्नेजस्ता प्रवृत्तिले पनि यसमा प्रभाव परेको उनको तर्क छ ।

‘शेयरबजारमा बीमा कम्पनीहरूको अझै लगानी पुगेको छैन । जीवन बीमा कम्पनीहरूले मात्र करीब ४० अर्ब हाराहारी शेयरमा लगानी गर्ने सक्ने अवस्था छ’, उनले भने, ‘जोखिम पनि हुने हुँदा त्यतातिर पनि ध्यान दिनुपर्छ । जीवन बीमा कम्पनीहरूबाट अझै लगानी बढाउन आवश्यक छ ।’

बीमा आफै जोखिम वहन गर्ने व्यवसाय भएकाले जोखिम हुने ठाउँमै बढी लगानी गर्न नहुने उनको सुझाव छ ।

शेयरमा गरेको लगानीबाट बीमा कम्पनीहरूले राम्रै नाफा कमाउने गरेको भट्टराईले बताए । ‘मेरो अनुभवमा त्यति धेरै आम्दानी नहुने गरे पनि शेयरबापतको आम्दानीको अंश १० प्रतिशतभन्दा बढी नै छ ।’

बीमा कम्पनीहरूले पुस मसान्तसम्म विभिन्न क्षेत्रमा ३ खर्ब ८८ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमा जीवन बीमा कम्पनीबाट ३ खर्ब २५ अर्ब र निर्जीवन बीमा कम्पनीबाट ६३ अर्ब ५३ लाख रुपैयाँ लगानी भएको छ । उनीहरूको करीब ७० प्रतिशत लगानी बैंकको निक्षेपमै रहेको छ । यसबाहेक पूर्वाधार, म्युचुअल फन्ड, ऋणपत्रलगायतमा पनि बीमा कम्पनीको लगानी छ ।

सगरमाथा इन्स्योरेन्सका सीईओ क्षत्रीले लगानीको दायरा अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए । बीमा कम्पनीहरूले एकआपसमा सहकार्य अर्थात् सहवित्तीयकरणमार्फत ऊर्जालगायत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने उनको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)