ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजेल लिन भारत गएकै तेल ट्यांकरबाट अवैध निकासी

२०७७ चैत, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्यांकरमैै तस्करी हुने गरेको रहस्य खुलेको छ ।

भारतबाट ल्याइएको डिजेल भरेर भारततर्फ नै लैजान लागेको इन्धन बोक्ने ट्यांकर र दुई व्यक्ति शनिवार विराटनगरमा पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार २ हजार ६५० लिटर डिजेल हालेर भारततर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्यांकरसहित दुई जना पक्राउ परेका हुन् ।

भारतमा नेपालमा भन्दा प्रतिलिटर इन्धन २५ रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य ११६ रुपैयाँ छ । नेपालमा डिजेल ९९ रुपैयाँ प्रतिलिटर छ भने भारतमा १२५ रुपैयाँ प्रतिलिटर रहेको छ ।

‘भारतमा महँगोमा बेच्न चोरी गरी लैजाँदा रहेछन्,’ आयल निगमका एक अधिकारीले भने, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ । त्यही भएर तस्करी हुने गरेको छ ।’ शनिवार तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पुर्‍याउँदा तस्करीमा लागेका गिरोहलाई करीब ६५ हजार रुपैयाँ फाइदा हुने भएको थियो ।

शनिवार इन्धन लिन भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्यांकर जाँच गर्दा २ हजार ६६० लिटर डिजेल बरामद भएको थियो । ट्यांकरको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो ।

भारत अररिया जिल्ला मिरगञ्जका चालक र सहचालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले डिजेल तस्करी गरेर भारत लैजाने तयारी गरेको खुलेको मोरङ प्रहरीले बताएको छ ।

भारतको बरौनी डिपोबाट शुक्रवार आयल निगम विराटनगरका लागि २० हजार लिटर पेट्रोल लिएर आएको उक्त ट्यांकरको अटोमेटिक रूपमा गरिएको लक (चाबी) आयल निगममा खोलिएको थियो । त्यसपछि ट्यांकरले बेलबारीमा रहेको २ ओटा, विराटचौक र सुनसरीको तरहरामा रहेको १–१ ओटा पेट्रोल पम्पमा समान ५/५ हजार लिटरका दरले पेट्रोल अनलोड गरेको थियो । पेट्रोल खन्याएपछि बूढीगंगा गाउँपालिका ४ नेमुवामा रहेको नीतेश आयलमा डिजेल लोड गरेको खुलेको छ ।

तस्करीमा प्रयोग भएको ट्यांकर ढुवानी व्यावसायी संघ मोरङका सचिव चरणप्रीत सिंहको हो । उनका आधा दर्जनभन्दा बढी ट्यांकर छन् । व्यवसायी, चालक र सहचालकको मिलेमतोमा इन्धन भारततर्फ तस्करी गरेको हुन सक्ने भएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

‘ड्राइभरले मात्रै चोरी गर्ने आँट गर्दैन, यहाँ गाडी मालिक सिंहकै हात छ,’ सुरक्षा स्रोतले भन्यो, ‘सबैको मिलेमतोमा भारततर्फ इन्धनको तस्करी भइरहेको छ ।’ निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ । तर, बीच बाटोमा तेल अनलोड हुने भएका कारण चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ । भारतमा इन्धन महँगो भएकाले निगमले भारत जाने खाली ट्यांकरमा पनि लक लगाउने गरेको थियो ।

शनिवार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको नेपाल आयल निगम प्रदेश १ विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिए । ‘शुक्रवार बरौनीबाट आएको ट्यांकरले सोही दिन डिपोमा ढुवानी गरी शनिवार निगममा आएको थियो,’ उनले भने, ‘हामीले भारत जाने खाली साधनमा पनि लक गर्ने गरेका थियौं, जसको चाबी विराटनगर र बरौनी डिपोमा मात्रै हुन्छ । तर, लक गर्ने क्रममा शंका लागेर हेर्दा ट्यांकरमा डिजेल भेटियो ।’ डिजेल भेटिएपछि थप अनुसन्धानका लागि मोरङ प्रहरीलाई निगमले जानकारी गराएको थियो । प्रहरीले प्रारम्भिक चरणको अनुसन्धानमा भारततर्फ इन्धन तस्करी हुने गरेको पुष्टि भएपछि थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)