ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ महीनामा करीब ५ लाख करदाता थपिए

राजस्व संकलन पनि उत्साहजनक

२०७७ चैत, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनाको अवधिमा करीब ५ लाख करदाता थपिएका छन् । कोरोना महामारीको समयका रूपमा लिइएको यो अवधिमा पनि करदाता थपिने क्रम बढेको हो । अर्थ मन्त्रालयका अनुसार माघ मसान्तसम्ममा ४ लाख ८८ हजार करदाता थपिएका छन् ।

यो अवधिमा खासगरी व्यवसायी स्थायी लेखा नम्बर लिने नयाँ करदाताको संख्या १ लाख ५९ छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३ लाख २५ हजार छन् । २५ सयभन्दा बढीले करकट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९४६ पुगेको छ । यो संख्या गत असारमा ३३ लाख ३७ हजार ४०० थियो ।

चालू आवको ७ महीना अवधिमा मूल्य अभिवृद्धि करतर्फ २२ हजार ६०० र अन्तःशुल्कतर्फ दर्ता हुनेको संख्या १३ हजार ५०० छ । यससँगै मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ७ हजार ८४५ पुगेका छन् ।

अर्थ मन्त्रालय, राजस्व महाशाखाका प्रमुख रामेश्वर दंगाल कर प्रणाली विद्युतीय माध्यममा गएकाले पनि करदाता उल्लेख्य बढेको बताउँछन् । उनका अनुसार नीतिगत सुधार नै करदाता थपिनुको मुख्य कारण हो । नयाँ करदाता थपिने क्रम बढेसँगै सरकारले राजस्व संकलनमा समेत सफलता पाउँदै गएको देखिएको छ । चालू वर्षको माघसम्म सरकारले राजस्व संकलनमा अपेक्षाकृत नै राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा लक्ष्यको ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । चालू आवमा कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने सरकारी लक्ष्य छ ।

माघसम्ममा यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो । यसमध्ये समीक्षा अवधिमा ५ खर्ब ३० अर्ब ७२ करोड संकलन भएको छ ।

खासगरी उत्पादन, विक्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि करले सरकारलाई राजस्वको निर्धारित लक्ष्य पूरा गर्न राम्रो सघाउ पुगेको छ । यस्तो मूल्य अभिवृद्धि करमा १०९ दशमलव ९२ प्रतिशत प्राप्त गर्न सरकारले सफलता पाएको छ भने भन्सार महसुलतर्फमाघसम्मको राजस्व लक्ष्यको तुलनामा ९६ दशमलव ५२ प्रतिशत संकलन भएको छ । त्यस्तै, कुल मूल्य अभिवृद्धि करमा भने लक्ष्यको ८८ दशमलव ७५ प्रतिशत राजस्व संकलन भएको तथ्यांकमा देखिएको छ ।

त्यस अवधिमा अन्तःशुल्कतर्फलक्ष्यको ८४ दशमलव ६८ प्रतिशत संकलन भएको छ भने आयकरतर्फ ९५ दशमलव ७४ प्रतिशत राजस्व संकलन भएको छ । गैरकर राजस्व लक्ष्यको ८२ दशमलव ३९ प्रतिशत संकलन भएको देखिन्छ ।

माघसम्मको तथ्यांकमा भन्सार महसुल गत आवको यसै अवधिको तुलनामा २१ दशमलव १ प्रतिशतले बढेको छ । आयकर संकलन भने गत आवको यसै अवधिको तुलनामा ९ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ । केही सूचकांकमा लक्ष्य नभेटिए पनि अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा वार्षिक लक्ष्य पूरा अवश्य हुनेछ । त्यसका लागि विभागहरूले राजस्व संकलन लक्ष्य भेट्न वैकल्पिक कार्ययोजना निर्माण गर्न अर्थले विभागहरूलाई निर्देशन दिइसकेको छ । ‘वैकल्पिक कार्ययोजना विभागहरूले बनाइरहेका छन्, कार्ययोजनाअनुसार काम भए/नभएकोबारे त्यसको मन्त्रालयबाट पनि अनुगमन हुनेछ र वार्षिक लक्ष्य भेट्न सम्भव हुनेछ,’ महाशाखा प्रमुख दंगालले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)