ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँपालिका कार्यालय दुई महीनादेखि निमित्तको भरमा

२०७७ चैत, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको पैयुँ गाउँपालिका कार्यालय विगत दुई महीनायता निमित्तको भरमा चलिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक काम बाहेक अन्य कामहरू ठप्पप्रायः छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा लेखा अधिकृत सरोज पराजुलीले प्रशासनिक कामकाज चलाइरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रहेका नेत्रप्रसाद पौडेल उपसचिवमा बढुवा भई कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भएपछि गाउँपालिका कार्यालय निमित्तको भरमा चलेको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, नीतिगत निर्णय तथा अन्य दैनिक प्रशासनिक कामकाजहरूमा समस्या भएको बताए ।

आर्थिक वर्ष अन्तिमतिर आउँदै गर्दा धेरै विकास निर्माणका काम शुरू गर्ने र उपभोक्ता समितिले गरेका काममा भुक्तानी दिने कार्य रोकिएको उनको भनाइ छ । गाउँपालिका हाकिमविहीन हुँदा दुई महीनादेखि कर्मचारीले तलब समेत पाएका छैनन ।
 
प्रमुख प्रशासकीय अधिकृत माग गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगे पनि अहिलेसम्म कसैलाई नपठाएको अध्यक्ष तिवारीले गुनासो गरे । गाउँपालिकाले चालू आवमा प्रशासनिक भवन, दुईओटा वडाको भवन निर्माण गर्ने र कोभिड अस्पताल निर्माण गर्ने, विभिन्न खाले ऐन तथा नियमावली जारी गर्ने र विकास निर्माणका काम गर्ने लक्ष्य राखेको छ ।

नयाँ कामको शुरुआत गर्न सम्झौता गर्ने र मूल्यांकन गर्ने कार्य पनि ठप्प छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अलमल रहेको तिवारीले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज पराजुलीले आफूलाई आर्थिक अख्तियारी नहुँदा आर्थिक कारोबारका काम सबै रोकिएको जानकारी दिएका छन् । दैनिक प्रशासन चलाउने र कार्यपालिकाका बैठक बसाल्ने बाहेक अन्य काम गर्न नसकिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)