ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ महीनामा १६ अर्बको सुन आयात

२०७७ चैत, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू. ३ अर्ब ७१ करोडले बढी हो ।

यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू. १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।

चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका कारण उक्त समयमा सुनको आयात उच्च रहेको थियो ।

कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ ।

दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन भएकाले त्यो समयमा व्यवसायीले सुनको आयात बढाएका थिए । मङ्सिरसम्म सिजन भएकाले सुनको आयात उच्च देखिए पनि पुसपछि बिहेको लगन नभएका कारण आयात घट्ने अनुमान व्यवसायीको थियो । सिजनपछि सुनको माग सामान्य घटे पनि त्यति प्रभाव परेको देखिँदैन ।

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्य यतिबेला सुनको आयात बढ्नु स्वाभाविक भएको बताउँछन् ।

सुनको आयात नबढेमा यसले अनियमितता निम्त्याउने उनको धारणा छ । ‘कोरोनाका कारण ६ महीनासम्म व्यवसाय बन्दै भएको, १ लाख पुगेको सुनको मूल्य बढेर डेढ लाख पुग्ने अनुमान गरिएकोमा अहिले सुनको मूल्य पनि घटेका कारण आयात बढेको हुनुपर्छ,’ उनले भने । सुनको आयात बढ्नुको अर्को कारण भने वैशाखमा हुने बिहे व्रतबन्धको लगन भएको उनी बताउँछन् । ‘कोरोनाको असर र लगन पनि नभएका कारण थुप्रै बिहे व्रतबन्धका कार्यक्रम रोकिएका थिए । अब वैशाखमा लगन भएकाले बजारमा सुनको माग उच्च देखिएको छ,’ उनले भने, ‘अहिले माग उच्च भएका कारण बजारमा सुन अभाव देखिएको हो ।’

माग भए पनि बजारमा सुनको अभाव भएका कारण अर्डर लिन नसकिएको उनले बताए । माग धान्नका लागि सम्बद्ध निकायहरूमा ३० किलोसम्म सुनको आयात गर्न पहल गरेको बताउँदै सुन आयात सहज बनाउनुपर्ने उनको भनाइ छ । संघले नेपाल राष्ट्र बैंकसँग सुन आयातको कोटा बढाउन माग गरेको छ । राष्ट्र बैंक कोटा बढाउन सकारात्मक रहेको बताइएको छ । गतवर्षको असारसम्म सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँको हाराहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धलगायत कारणले त्यो बढेर गत आवमा ८० हजार रुपैयाँको हाराहारी पुगेको थियो । त्यसपछि कोरोना भाइरसको प्रभावले सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो । अहिले भने सुनको कारोबार प्रतितोला ८६  हजारको हाराहारीमा भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)