ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

२०७७ चैत, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो ।

चार्जिङ स्टेशन बनाउन १३ कम्पनीले टेन्डर दिएका थिए । तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए । तीमध्येबाट स्टार चार्जलाई छनोट गरिएको हो । प्राधिकरणअन्तर्गतको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सागरमणि ज्ञवालीले स्टार चार्जलाई आयोजना निर्माणको ठेक्का दिने निर्णय भएको बताए ।

उक्त कम्पनीलाई यसका लागि लेटर अफ इन्टेन (एलओआई) पनि दिइसकेको बताए । अब यही मार्चभित्र नै कम्पनीसँग ठेक्का सम्झौता हुने उनको भनाइ छ । ठेक्का सम्झौता गर्न उक्त कम्पनी बैंक ग्यारेन्टी लिएर नेपाल आउनुपर्ने छ ।

ज्ञवालीका अनुसार चार्जिङ स्टेशनमा आवश्यक पर्ने सामग्री खरीद र निर्माणको सबै काम कम्पनीले नै गर्नेछ । यस काममा प्राधिकरणले ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । तर, कम्पनीले त्यो भन्दा २३ प्रतिशत कम अर्थात् ३८ करोडमा नै आयोजना बनाउने गरी प्रस्ताव पेश गरेको ज्ञवालीको भनाइ छ ।

ठेक्का सम्झौता भएको केही दिनमै आयोजनाको शिलान्यास हुने र १ वर्षभित्र आयोजनाको निर्माण सम्पन्न हुने उनले बताए । ‘हामीले ६ देखि ८ महीनाभित्र नै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं । तर, प्राविधिक तयारी पूरा गर्दा बढीमा १ वर्षसम्म लाग्न सक्छ,’ उनले भने ।

प्राधिकरणले विद्युतीय गाडी चार्जलाई लक्षित गरेर काठमाडौं उपत्यकामा सातसहित विभिन्न राजमार्गमा गरेर ५० चार्जिङ स्टेशन बनाउने योजना बनाएको छ । उक्त चार्जिङ स्टेशनमा ट्रान्सफर्मर, हाई तथा लो टेन्सन लाइन, सिभिल संरचना निर्माण, चार्जिङ स्टेशन निर्माण, सफ्टवेयर तथा कम्युनिकेशन, डिजिटल बिल भुक्तानीको लागि ‘पेमेन्ट गेट वे’को संरचना हुनेछ । यसमा लाग्ने सम्पूर्ण सामग्रीको खरीद तथा निर्माणको काम ठेकदार कम्पनीले नै गर्नुपर्ने छ ।

साथै, ५ वर्षसम्म मर्मतको काम पनि सोही कम्पनीले गर्नुपर्ने आयोजना प्रमुख ज्ञवालीले बताए । ५ वर्षभित्र कुनै सामग्री बिग्रिए पनि कम्पनीले त्यसको ठाउँमा नयाँ सामग्री जडान गर्नुपर्ने उनको भनाइ छ ।

एउटा चार्जिङ स्टेशन १४२ किलोवाटको हुनेछ । त्यसमा १२० किलोवाट डीसी हुनेछ भने २२ किलोवाट एसी हुनेछ । चार्जिङ स्टेशनले २०० किलोवाटसम्मको गाडी बढीमा २ घण्टामा नै पूर्णरूपमा चार्ज गर्न सक्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)