ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यातमा विदेशी वस्तुकै भर ! छैन स्वेदशी उत्पादन

२०७७ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको छ । तर, निर्यातमा देखिएको सुधारमा स्वदेशीभन्दा विदेशी वस्तुकै योगदान बढी देखिन्छ ।

निर्यात प्रवर्द्धन नीतिअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेटमा आयात रोक्न करमा व्यापक वृद्धि गर्ने, निर्यातयोग्य वस्तुको कच्चा पदार्थको आयातमा भन्सार छूट दिनेजस्ता व्यवस्था गरे । त्यसयता वर्तमान सरकारले तीनओटा बजेट ल्याइसकेको छ भने चौथो बजेट निर्माणको तयारीमा जुटेको छ । तर, अहिलेसम्म नेपाली वस्तु निर्यातका लागि उत्पादनकै वातावरण बन्न सकेको छैन । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न नसकेकै कारण निर्यात वृद्धिमा विदेशी उत्पादनमै भर पर्नु परेको छ ।

भारतीय बजारमा माग पनि भएको र निर्यात गर्न पनि सहज भएपछि नेपाली व्यवसायीहरूले इन्डोनेशिया, थाइल्यान्ड र मलेशियालगायत मुलुकबाट कच्चा पाम आयात गरेर प्रशोधन गरी भारत निकासी गर्ने गरेका थिए । भारतले तीती देशबाट पाम तेल आयातमा लगाएको प्रतिबन्धको फाइदा उठाएर नेपाली व्यवसायीहरूले कच्चा पाम आयात गरी प्रशोधन गरी निर्यात ह्वात्तै बढाएका थिए ।

तर, भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीडीएएफटी)ले अघिल्लो वर्ष पुस अन्तिम साता पाम तेलको आयातमा कडाइ गर्दै चालू वर्षको वैशाखदेखि पूर्ण प्रतिबन्ध लगायो । पाममा लगाइएको प्रतिबन्धसँगै नेपालको बढ्दो निर्यात प्रभावित भयो । तर, व्यवसायीहरूले पामको विकल्प खोजे । अब उनीहरूले कच्चा पामको सट्टामा कच्चा भटमास आयात गर्न थाले र प्रशोधन गरी भारत निर्यात गर्न थाले ।

तेल व्यवसायी प्रदीप मुरारकाका अनुसार अहिले तेल उत्पादन गर्ने उद्योगहरूमा अघिल्लो वर्ष पामको उत्पादन भए बराबर नै भटमासको तेलको उत्पादन हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महीनामा नेपालबाट रू. २३ अर्ब १२ करोडको भटमासको तेल निर्यात भएको छ । यस अवधिमा नेपालबाट कुल रू. ८० अर्ब ७७ करोडको निर्यात भएकोमा भटमासको तेलको निर्यात मात्रै कुल निर्यातको २८ प्रतिशत अंश छ ।

यस अवधिमा दोस्रो नम्बरमा रहेको सिन्थेटिक यार्नको निर्यात भने रू. ९१ करोडले घटेर रू. ५ अर्ब १ करोडमा सीमित भएको छ । शीर्षस्थानमै रहेका ऊनी गलैंचा, कार्पेट, चिया र तयारी कपडाको निर्यात रू. २ देखि ५ अर्बको बीचमा सीमित छ ।

सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न नारा लिए पनि व्यवहारमा ४ वर्षअघि र अहिलेको सरकारको नीतिमा कुनै परिवर्तन नदेखिएको व्यवसायीहरू बताउँछन् ।

नेपाल भारत उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका व्यवसायी सुनील केसीले सरकारले उत्पादनमुखी उद्योग प्रवद्र्धन गर्न नसकेकै कारण नेपाली उत्पादन बढ्न नसकेको बताए ।

तेस्रो मुलुकबाट आयात गरेको सामान निर्यात गर्दा व्यवसायीलाई फाइदा भए पनि यसले मुलुकलाई फाइदा नहुने उनको भनाइ छ । ‘निर्यातयोग्य नेपाली स्याउ, मह, जडीबुटी आदि थुप्रै वस्तु छन्, औद्योगिक उत्पादन गरेर निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘विदेशबाट आयात गरेर बोटलिङ मात्र गरेर निकासी गरिने पाम÷भटमासको तेलले अर्थतन्त्र धान्दैन ।’ सरकारले सहजीकरण नगरेकै कारण औद्योगिक लगानी बढ्न नसकेको उनले बताए ।

अर्थविद् डा. शंकर शर्मा सरकारले निर्यात प्रवद्र्धनका लागि विशेष रणनीति अपनाउनुपर्ने बताउँछन् । ‘पाम/भटमास लगायत वस्तु निर्यातले निर्यातको आकार बढाए पनि मुलुकको अर्थतन्त्रमा सुधार गर्दैन,’ उनले भने । औद्योगिक विकास नगरी अर्थतन्त्र ठीक दिशातर्फ नजाने भएकाले निजीक्षेत्रसँग सहकार्य गरी उद्योग स्थापना बढाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)