ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियत कर्जा सुविधा उपयोग गर्ने ६८ हजार पुगे

२०७७ चैत, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । हालसम्म हजारौंको संख्यामा खर्ब बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भए पनि नेपाल राष्ट्र बैंकले तोकेको कर्जा शीर्षकअन्तर्गत सीटीईभीटीबाट तालीम लिन र युवा स्वरोजगार कर्जा प्रवाहमा भने उत्साह देखिएको छैन । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत माघसम्मा ६८ हजार २ सय ६ ऋणीमा सहुलियतपूर्ण कर्जा प्रवाह भई रू. १ खर्ब १२ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ ।

नेपाल सरकारको निर्णयअनुसार राष्ट्र बैंकले गत असोजदेखि सहुलियतपूर्ण शीर्षकअन्तर्गत युवा स्वरोजगार कर्जा थपेको थियो । तर, चालू आवको ७ महीना बितिसक्दा पनि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा गएको छैन ।

यस्तो कर्जा लिन युवाहरूले राम्रो परियोजनासहित बैंकमा कर्जाको प्रस्ताव राख्नुपर्ने भएकाले यो शीर्षकमा यस्ता खालको प्रस्ताव नपरेको बैंकरहरू बताउँछन् ।

सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालीम लिन लिइने कर्जा पनि खासै प्रभावकारी देखिँदैन । चालू आवको ७ महीनासम्ममा सीटीईभीटीबाट अनुमतिप्राप्त संस्थाको तालीम लिने उद्देश्यले हालसम्म १ जनाले २ लाख रुपैयाँको मात्र सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । केन्द्रीय बैंकका साना कर्जा प्रवाहमा समस्या परेको हिमालयन बैंकका महाप्रबन्धक (जनरल म्यानेजर) तथा सूचना अधिकारी सुशील जोशी बताउँछन् । ‘शीर्षकअनुसार कर्जाभन्दा पनि हामीलाई विशेष गरेर रू. १० लाखभन्दा कमका कर्जा प्रवाहमा गाह्रो परिरहेको छ,’ उनले अभियानसँग भने ।

कृषि तथा पशुपक्षी व्यवसाय कर्जा र महिला उद्यमशीलता कर्जामा भने प्रत्येक महीना ऋणी संख्या र ऋण रकम बढ्दै गएको छ । सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी प्रवाह भएको कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको रू. ८२ अर्ब १८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको रू. २९ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको छ । कृषि तथा पशुपक्षी व्यवसाय कर्जामा पनि धितो र विनाधितोमा कर्जा प्रवाह भएको छ । गत माघसम्ममा कृषिमा रू. १ अर्ब ७० करोड ३ लाख बराबरको विनाधितोमा कर्जा प्रवाह भएको छ भने बाँकी रू. ८० अर्ब ४८ करोड ३८ लाख धितोमा गएको राष्ट्र बैंकले बताएको छ । व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति रू. ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ । साथै, यसभन्दा बढीको कर्जामा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ ।

यसैगरी, ६ प्रतिशत ब्याज अनुदानमा महिला उद्यमीलाई बैंकहरूले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । पछिल्लो ३ महीनालाई आधार मान्दा प्रत्येक महीना यस्तो कर्जा उपयोग गर्ने महिला करीब ५ हजारको हाराहारीमा थपिइरहेका छन् । महिला उद्यमीले यस्तो कर्जा पाउन सास्ती खेप्नुपरेको गुनासो पनि गरेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजकि गरेको तथ्यांकअनुसार माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ३० हजार ४ सय ६५ जना पुगेको छ । यस अवधिसम्ममा २७ अर्ब ५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । गत पुसमा २५ हजार २ सय ९८ जना महिलाले रू. २१ अर्ब ७८ करोड कर्जा उपयोग गरेका थिए । महिला उद्यमशीलता कर्जा विनाधितो प्रतिव्यक्ति १५ लाखसम्म लिन पाइन्छ ।

गत आवको अन्तिम त्रैमासमा कोभिड १९को अधिक प्रभावले गर्दा सहुलियतपूर्ण कर्जा प्रवाह प्रभावित बनेको थियो । तर, अहिले यस्तो कर्जा लगानीमा उल्लेखनीय सुधार हुन थालेको तथ्यांकले देखाउँछ । तुलनात्मक रूपमा कृषि र महिला उद्यमशीलताको जस्तो अन्य शीर्षकमा कर्जा प्रवाह धेरै हुन नसके पनि प्रत्येक महीना क्रमशः वृद्धि भइरहेको छ ।

सहुलियत कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा चालू आवको ७ महीनासम्ममा १ सय १९ जनामा ५ करोड ४९ लाख रुपैयाँ ऋण बक्यौता रहेको छ । यसअघिको पुस महीनामा १ सय ३ को संख्यामा ५ करोड १३ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको थियो । उक्त शीर्षकको कर्जामा प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई कर्जा दिँदा जोखिम हुनसक्ने बैंकरहरू तर्क गर्छन् । यसैगरी, ‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ५ सय ९६ को संख्यामा रू. ४ करोड ४९ लाखको ऋण बक्यौता रहेको छ । गत पुसमा ५ सय ३९ को संख्यामा रू. ४ करोड २ लाखको ऋण बक्यौता रहेको थियो । शिक्षित युवा स्वरोजगार कर्जा रू. ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू. १० लाखसम्म लिन पाइने व्यवस्था छ । यस्तै, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ६ सय ८३ को संख्यामा ४० करोड ६९ लाख रुपैयाँ कर्जा बक्यौता रहेको छ । गत पुसमा यस्तो कर्जा ६ सय ३० को संख्यामा ३६ करोड ५१ लाख रुपैयाँ कर्जा बक्यौता रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)