ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेरि बढ्यो कोरोना महामारी त्रास, निजीक्षेत्र चिन्तित

२०७७ चैत, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं ।  एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ ।

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहरू बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत बढिरहेको र संक्रमण फेरि बढ्न सक्ने आकलन गर्दै कोभिड संक्रमणको जोखिमविरुद्ध लड्न सरकारी संयन्त्रहरूले रणनीति तय गर्न थालेका छन् ।

उनीहरूले तय गरेको प्रारम्भिक रणनीतिमा खासगरी भीडभाडका गतिविधि नियन्त्रण गर्ने, जोखिम कम गर्न क्वारेन्टाइन र आइसोलेशनलाई तयारी अवस्थामा राख्ने, सीमानाकामा सतर्कता बढाउनेदेखि परिस्थिति हेरेर बन्दाबन्दी गर्नेसम्मको छ ।

गृह मन्त्रालयका अनुसार देशभर भीडभाडका गतिविधि हुन नदिन प्रशासनलाई परिपत्र भइसकेको छ । त्यस्तै क्वारेन्टाइन र आइसोलेशन सेन्टरलाई समेत तयारी अवस्थामा राख्न थालिएको छ ।

संक्रमण बढिरहेको बेला फेरि क्वारेन्टाइन र आइसोलेशन आवश्यक पर्न सक्ने आकलन गर्दै अहिले विवरण संकलनको काम शुरू भइसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउँछन् । ‘७७ ओटै जिल्लाका क्वारेन्टाइन र आइसोलेशन सेन्टरको यकिन विवरण संकलन गर्दै तयारी अवस्थामा राखिँदै छ,’ उनले भने ।

उनका अनुसार गृह मन्त्रालयले बुधवार आफ्ना संयन्त्रहरूलाई परिपत्र गर्दै सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि निर्देशन दिएको छ । बुढाले कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड, सभा, जुलुस नगर्न आह्वानसमेत गरेका छन् । यस्ता गतिविधि हुन नदिन प्रशासनलाई निर्देशनसमेत दिइएको उनले बताए ।

गृह मन्त्रालयले आफ्नो रणनीति तय गरिरहँदा भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरू फर्किन थालेका छन् ।

भारतबाट स्वदेश फर्किने नेपालीहरू फर्किंदा सीमा नाकाहरूमा भीडभाड देखिन थालिसकेको छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै दैनिक १ हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

‘यी दुई नाकाबाट विगत १० दिनमा ८ हजारभन्दा बढी भित्रिएको अनुमान छ,’ डीएसपी अमरबहादुर थापाले भने ।

भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणको काम कतिपय ठाउँमा शुरू नै नभएको र कतिपयमा ढिला गरी थालिएको सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको गति रोक्न बन्दाबन्दी गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेको छ ।

बुधवार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरूको अनावश्यक भीडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दूरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।

‘बन्दाबन्दी गर्नु नेपाल सरकारको उद्देश्य होइन, तर सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रूपमा फैलिन नदिन सजग हुनुपर्छ,’ उनले भने । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भीडभाड नगर्न समेत अधिकारीले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधवार दिएको जानकारीअनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमूना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको छ । यसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

यस्तै, दोस्रो चरणको कोभिड संक्रमण महामारीका रूपमा आउन सक्ने खतरालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रूपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउनसमेत भनेको छ ।

निजीक्षेत्र चिन्तित
कोरोनाको दोस्रो लहर फैलन थालेपछि निजीक्षेत्र थप चिन्तामा परेको छ । कोरोना नियन्त्रणका लागि यसअघि सरकारले बन्दाबन्दी गर्दा महीनौंसम्म संकटग्रस्त अवस्था रहेको र फेरि महामारी फैलियो भने लगानी डुब्ने चिन्तामा निजीक्षेत्र रहेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले कोरोनाले थलिएको अर्थतन्त्र माथि उठिरहेको समयमा फेरि संकमण फैलँदा चिन्तित बन्न पुगेको बताए । उनका अनुसार कोभिड महामारी फेरि बढ्न गई उद्योग सञ्चालनमा समस्या आउने हो कि भन्ने चिन्ता निजीक्षेत्रमा छ । कोभिडको नयाँ चरणको संक्रमणलाई रोक्न सरकारले बन्दाबन्दी वा निषेधाज्ञा लगाइहाल्न नहुने उनी बताउँछन् ।

‘भ्याक्सिन आइरहेको छ, सबैलाई खोप लगाउने वातावरण तयार हुनुपर्‍यो, बन्दाबन्दी, निषेधाज्ञा अब मुलुकले थेग्न कठिन छ, प्रोटोकल पूरा गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार दृढ भएर लाग्नुपर्छ,’ उनको भनाइ छ ।

यसैबीच, संसदीय समितिले महामारी फैलन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सरकारलाई सुझाव दिएको छ ।

कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले बुधवार समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गर्दै प्रत्येक अस्पतालमा संक्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न, निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउन र भएका प्लान्ट निरन्तर रूपमा चालू राख्न तथा संक्रामक तथा अन्य रोगका बारेमा जनचेतना अभियान सञ्चालन गर्न सुझाव दिइएको छ । हाल स्वास्थ्य सेवामा दुर्गम र सुगमसम्बन्धी नीति यथावत् भएको र विषयविज्ञ चिकित्सकको अभाव देखिएकाले चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ ।

उपसमितिले दिएको सुझावमा खुला सीमा भएका ठाउँमा संक्रामकलगायत रोगसम्बन्धी जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था, प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन तथा केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि भनिएको छ ।

प्रादेशिक र जिल्ला अस्पताललाई भेन्टिलेटरसहितको सघन उपचार कक्षलगायत सेवा प्रदान गर्ने गरी सुविधासम्पन्न बनाउनुपर्ने, प्रादेशिक अस्पतालमा सबै रोगको उपचार हुने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने, कारागारलाई मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी संक्रामक रोग तथा अन्य स्वास्थ्य समस्यामा उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा समेटिएको छ ।

होली खेल्न प्रतिबन्ध रात्रिकालीन व्यवसायमा रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

बुधवार बसेको बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रहरूको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बाहिर निस्कँदा सुरक्षा मापदण्ड अपनाउन सबैलाई अपील गर्ने निर्णय भएको, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रजिअ पराजुलीले बताए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला कोरोना भाइरस विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधवारको बैठकले राति ११ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बैठकका निर्णयबारे जानकारी गराउँदै क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)