ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति

३ महीनामा नै सर्वेक्षण सक्ने प्राधिकरणको तयारी

२०७७ चैत, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ । विभागले गतहप्ता उक्त क्षमता बराबरको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजनाको अध्ययन गर्न प्राधिकरणलाई अनुमति दिएको हो ।
प्राधिकरणले उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति माग्दै गत पुसमा विभागमा आवेदन दर्ता गरेको थियो । त्यसपछि विभागले आवश्यक अध्ययन तथा प्रक्रिया पूरा गरेर प्राधिकरणलाई उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति दिएको हो । विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनाको सर्वेक्षणका लागि अनुमति दिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आयोजना सर्वेका लागि अनुमति प्राप्त गरेको बताए । तत्काल आयोजनाको सर्वेको काम अगाडि बढाइने उनको भनाइ छ । ‘अब दुई–अढाई महीनामा नै सर्वेक्षणको काम सकिन्छ । साथै, ९ महीनासम्म वातावरणीय अध्ययन पनि सकिन्छ,’ उनले भने, ‘त्यसपछि लगानी जुटाउने तथा आयोजना निर्माणसम्बन्धी काम गर्छाै ।’ अनुमतिपत्रको म्याद २ वर्ष रहेको छ ।

म्याद थप गरेर बढीमा ५ वर्षसम्ममा म्याद दिन सकिन्छ । त्यसअनुसार प्राधिकरणले बढीमा ५ वर्षभित्र नै आयोजनाको सर्वेक्षण गरेर विभागमा निर्माण अनुमतिपत्रका लागि आवेदन दिनुपर्ने हुन्छ ।

प्राधिकरणअन्तर्गतको एनईए इन्जिनीयरिङ कम्पनीले उक्त आयोजना बनाउने विषयमा केही समयअघि प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यहाँ पम्प स्टोरेज प्लान्ट बन्ने देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो ।

कुलेखानी बाँधभन्दा २ किलोमीटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बन्नेछ । साँझको पिक आवर (४ घण्टा) मा उक्त आयोजना सञ्चालन गरिनेछ । उक्त समयमा कुलेखानी बाँधबाट नै पानी लगेर १०० मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

विद्युत् गृहको टर्वाइनबाट बाहिरिने पानीलाई नजीकै अर्को बाँध बनाएर जम्मा गरिनेछ । पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानी माथि कुलेखानी बाँधमा फिर्ता पठाउने गरी आयोजना बनाउन लागिएको हो । प्राधिकरणले पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् मागलाई आपूर्ति गर्न सहज हुने गरी उक्त आयोजना बनाउन लागेको हो । आयोजना निर्माण गर्न ८ अर्ब लगानी  लाग्ने अनुमान गरिएको छ । उक्त लगानी रकम दातृ निकायको सहयोग तथा ऋण खोजेर जुटाइने प्राधिकरणको योजना छ । निर्माण शुरू गरेको २ वर्षभित्र नै आयोजनाको निर्माण सम्पन्न हुने प्राधिकरणको दाबी छ ।

प्राधिकरणले यसअघि पनि कास्की जिल्लामा बेगनास–रूपा पम्प स्टोरेज बनाउने योजना बनाएको थियो । तर, त्यो प्राविधिक रूपमा महँगो पर्ने भएपछि प्राधिकरण यो आयोजना तत्काल नबनाउने मनस्थितिमा पुगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)