ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको वर्ष दिन : अझै जुर्मुराउन सकेन पोखराको पर्यटन 

२०७७ चैत, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १५, कास्की । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वर्ष चैतमा सरकारले निषेधाज्ञासहित लकडाउन घोषणा गर्‍यो । 

लकडाउनका कारण आन्तरिक तथा बाह्यि पर्यटकले सधै भरीभराउ हुने पोखरा लगायत देश भरका पर्यटकीय क्षेत्रहरु सुनसान वने । विश्वव्यापी रुपमा कोरोना त्रास बढ्दै गएसंगै सरकारले छिमेकी देशसंगका सीमा नाका र अन्तरराष्ट्रिय हवाई उडान बन्द गर्‍यो । त्यसपछि झन पर्यटकीय गतिविधि ठप्पै भयो ।

लकडाउन हुनु अगाडी नेपाल भ्रमणमा आएर यतै वसेका केही विदेशी पर्यटक वाहेक करीब ६ महीनासम्म पर्यटन क्षेत्रले विदेशी पाहुनाको मुख देख्न पाएन । कोरोना संक्रमण फैलिने भय र त्रासका कारण लामो समयसम्म आन्तरिक पर्यटनसमेत ठप्प भयो । 

कोरोना संक्रमण फैलिएको एक वर्ष पुग्दा फाट्टफुट्टरुपमा आन्तरिक पर्यटकसंगै शैक्षिक र विभिन्न संघसंस्थाका भ्रमणको चहलपहल वृद्धि हुन थालेको अवस्थामा फेरी छिमेकी मुलुक भारतमा संक्रमण वृद्धि भएको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

गण्डकी प्रदेशका अधिकाँस जिल्लाहरुमा स्थानिय प्रशासनले सूचना जारी गरेर सभा, समारोह र भेला हुन नपाउने गरी पुनः रोक लगाएको छ ।लामो समय ठप्प रहेको पर्यटन क्षेत्र केही महीनापछि विस्तारै आन्तरिक पर्यटकको आगमसंगै तंग्रिने आशा जगाएपनि सोचेजस्तो ब्यापार नभएको व्यवसायीले बताएका छन् । 

अहिले अन्तरराष्ट्रिय हवाई उडान खुलेपनि अझै विदेशी पाहुना भित्रिन सकेका छैनन् । थोरै मात्रामा आएका विदेशी र केही आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन खुलेपनि व्यवसाय धानिने अवस्थामा नभएको पोखराका पर्यटन व्यवसायी गोविन्द शर्मा बताउँछन् ।


 

‘सानो संख्यामा आन्तरिक तथा वाह्यि पर्यटक वृद्धि भएपनि यसले व्यवसाय धानिने अवस्था रहदैन’, उनले भने, ‘लामो समयदेखि थलिएको पर्यटन ब्यवसाय चलायमान हुन ठूलोसंख्यामा पर्यटकको आगमन हुनुपर्छ ,संख्यात्मक वृद्धि भएपछि मात्र सवै क्षेत्रको पर्यटन ब्यवसाय चलायमान हुन्छ।’ 

उनले पछिल्लो समयमा क्रमशः वृद्धि भएको आन्तरिक पर्यटकको चहलपहलले ब्यवसायीमा आश जगाएको बताए ।

‘लामो समयसम्म शून्य भएको पर्यटन क्षेत्रमा विस्तारै आन्तरिक पर्यटकको वृद्धि भएपछि व्यवसायीमा थोरै भएपनि खुसी थप्यो’, उनले भने, ‘आन्तरिक पर्यकटको आगमनले सामान्य खर्चको जोहो भएपनि यसले ब्यवसाय धान्ने अवस्था भने छैन ।’

व्यवसायी शर्माले लामोसमयसम्म पर्यटक आगमन रोकिएर व्यवसाय ठप्प भएको अवस्थामा पर्यटकीय क्षेत्रमा अधिकाँस घरवेटीहरुले घर भाडामा छूट दिएका कारण धेरै व्यवसायी व्यवसायबाट पलायन हुनबाट बचेको बताए । 

‘अधिकाँस घरवेटीले ब्यवसायीको समस्या बुझेर अवस्था अनुसार घरभाडामा छुट दिएकाले ब्यवसायी एकपटक कसो अवस्था नसुध्रेला भन्दै पर्यटक आगमनको प्रतिक्षामा छन’ उनले भने, ‘तर, विडम्वना कोरोना कहरको एकबर्ष पूरा हुँदासमेत राम्रो संकेत देखिएको छैन, केही दिन यता पुन : संक्रमण बद्धी भएको अवस्थाले व्यवसायीलाई तनाब बढाएको छ ।’ 

व्यवसायीका अनुसार होटलल सञ्चालन खर्च धान्नका लागि कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ ।तर, अहिले त्यो अवस्था भने छैन । फेरि यतिबेला कोरोना संक्रमणको त्रास बढ्दै जाँदा पाहुनाको घुमघाम रोकिने अवस्था आएको छ ।

केही दिनदेखि पोखरामा फाट्टफुट्टमात्रमा भारतीय पर्यटकको आगमन हुन थालेपछि पर्यटक व्यवसायीमा आस जगाएको थियो । तर, केही दिनदेखि भारतमा एकाएक  कोरोना संक्रमण वृद्धि भएपछि पर्यटकको आगमन पुनः रोकिने भएपछि व्यवसायीमा निरासा छाएको छ । 

गत चैतमा घोषणा गरेको लकडाउन छिट्टै हटेर व्यवसाय पुरानै लयमा फर्कने आश गरेका व्यवसायीले करीब छ महीनापछि व्यवसाय चलायमान बनाउन विभिन्न कार्यक्रम गरेपनि सामान्य सुधार मात्र आएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन् ।

विदेशी पर्यटकको आगमन तत्काल हुने संकेत नपाएपछि व्यवसायीले अहिले आन्तरिक पर्यटकलाई जोड दिएर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । आन्तरीक पछि पर्यटन व्यवसायीले भारतीय र चिनियाँ पर्यटकलाई जोडदिएका छन् । एकवर्ष बित्दा पनि पोखरामा सबै होटल र रेस्टुरेन्ट पूर्ण रुपमा खुल्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

अहिले सम्म करीब २५ प्रतिशत पर्यटन व्यवसायी व्यवसायबाटै विस्तापित भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । 
उनले अहिले पोखराका होटलको अकुपेन्सी बढिमा १० प्रतिशत रहेको बताए । आन्तरिक पर्यटकले १० प्रतिशत धाने पनि व्यवसाय टिकाउ विदेशी पर्यटकको आगमन आवस्यक पर्ने अध्यक्ष तुलाचनले बताए ।‘

आन्तरिक पर्यटकको आगमनले ब्यवसायीलाई केही राहत भएपनि यो संख्या प¥याप्त छैन’, उनले भने, ‘ठूलो संख्यामा आवद्ध पर्यटन संग सम्वन्धित व्यवसायलाई टिकाउनका लागि विदेशीसहित आन्तरिक पर्यटक आवस्यक पर्छ ।’

पोखराको पर्यटनमा ठूलो लगानी भएकोले आन्तरिक तथा वाह्यि पर्यटकको आगमन आवस्यक रहेको व्यवसायीको भनाइ छ । कोरोना संक्रमणपछिको यस अवधीमा करीब ५० प्रतिशत पर्यटक मजदूरले रोजगारी गुमाएका छन् । पोखराका करीब ७०० ओटा होटल, ३०० ओटा रेष्टुरेण्ट र करीब ५००  ओटा पर्यटनसगँ सम्वन्धित व्यवसाय रहेका छन् ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले एक दिनमात्र लकडाउन हुँदा १४ करोड रुपैया नोक्सानी हुने तथ्याङकमा उल्लेख गरेको छ । 

स्वास्थ्य मन्त्रालयले सभा सम्मेलन नगर्न भन्दै विज्ञप्ती जारी गरे पछि व्यवासायीहरुमा फेरी वन्दावन्दी हुन लागेको हो की भन्ने आशंका पैदा भएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्ति लगत्तै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

व्यवसायलाई असर पार्ने कुनैपनि कार्य नगर्न र बढ्दो कोरोना संक्रमण रोक्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत आग्रह गरेको अध्यक्ष कोइरालाले बताए ।

‘लामो लकडाउनले नेपालको अर्थतन्त्रमा पुर्‍याएको असरबारे सबै जानकार छौँ’, उनले भने, ‘कोभिड–१९ मत्थर नभएको बेला सचेत बन्नुपर्छ, यसको लागि प्रशासनले सचेतताको लागि प्रचार गर्नुपर्छ । मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सचेतना जगाउनु पर्छ ।’

लकडाउन र त्यसपछिको विषम परिस्थितिमा पोखरा उद्योग वाणिज्य संघले नागरिकलाई सचेत रहन सार्वजनिक आह्वानसमेत गरेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)