पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ र महाशिला गाउँपालिका–४ लामतुन मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा छनोट भएका छन् । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो ।
गत वर्षसम्म कुश्मा नगरपालिका–१ पाङ, फलेवास नगरपालिका–१० कुर्घा, मोदी गाउँपालिका–७ राम्जादेउराली, विहादी गाउँपालिका–३ रानीपानी र पैयुँ गाउँपालिका–५ भुर्तेलथोकलाई कृषि नमूना गाउँ घोषणा गरेको थियो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाका अनुसार गत वर्षसम्म कार्यान्वयन भएका नमूना गाउँमा किसान समूहमा आबद्ध भएर नमूनाको रूपमा तरकारी, फलफूल र खाद्यान्न उत्पादन गर्न थालेका छन् । विशिष्ट रूपमा कृषि उत्पादन गर्ने सरकारको लक्ष्य अनुसार चालू आवमा मन्त्रालयले दुई स्थानमा कृषि गाउँ घोषणा गर्ने बताएको छ ।
मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँमा धाइरिङलाई समेटेपछि नमूना गाउँका लागि आवश्यक कार्य अगाडि बढेको वडाध्यक्ष टुंगानाथ आचार्यले जानकारी दिए । धाइरिङको सल्यान, मिलनचोक, घाहाखेत, फर्सेढुंगा लगायत गाउँ तरकारी उत्पादनका पकेट क्षेत्र हुन् । यहाँ वर्षेनि करौंडोको तरकारी उत्पादन हुँदै आएको छ । यो गाउँलाई नमूना कृषि गाउँमा छनोट गरेकोमा कृषक उत्साहित भएका छन् । नमूना कृषि गाउँमा छनोट भएपछि किसानले सरकारबाट टनेल निर्माण, सिँचाइ, भकारो सुधार, वातावरणमैत्री उत्पादनमा ८० प्रतिशतसम्म सरकारी अनुदान पाउँछन् ।
प्रविधियुक्त तालीम र आधुनिक खेती प्रणालीको बारेमा किसानलाई परामर्श दिनेगरी सरकारले एक कृषि प्राविधिक खटाएको छ । अनुगमन, सहजीकरण र परामर्शका लागि कृषि ज्ञान केन्द्र, गाउँपालिका र वडासँग सहकार्य हुने बताइएको छ । महाशिला गाउँपालिका–४ का अध्यक्ष पूर्णबहादुर मल्लले कृषि उत्पादनमा अग्रणी रहेको लामतुन गाउँ नमूना गाउँमा छनोट हुनु आफैमा एउटा उपलब्धि भएको बताए ।