ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनकोशी–मरिन डाइभर्सन आयोजना : सुरुङ निर्माणका लागि चाइना ओभरसिजसँग सम्झौता

२०७७ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपसँग ठेक्का सम्झौता भएको छ । अघिल्लो हप्ता आयोजना र चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपबीच ठेक्का सम्झौता भएको हो ।

सरकारले गत फागुनको अन्तिम साता उक्त आयोजनाको सुरुङ निर्माणका लागि चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई छनोट गरेको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सरकारले कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । आयोजनाका तर्फबाट निर्देशक सुशील आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ठेक्का सम्झौता भए पनि सुरुङ निर्माणको कार्य भने १ वर्षपछि मात्र हुने देखिएको छ । आयोजनाको सुरुङ पनि भेरी–बबईमै जस्तै अमेरिकी प्रविधिको टनेल बोरिङ मेशिन (टीबीएम) मार्फत नै खनिनेछ । तर, उक्त मेशिन भने अझै तयार भएको छैन । त्यो मेशिन अमेरिकामा बनाएर नेपाल ल्याउँदासम्म १ वर्षभन्दा बढी समय लाग्नेछ । त्यसैले सुरुङ निर्माण शुरू हुन १ वर्ष लाग्ने सिँचाइ विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले बताए ।

अब ठेकदार कम्पनीले टीबीएम मेशिनको डिजाइन बनाएर सिँचाइ विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्यसका लागि लगभग ६ महीना समय लाग्नेछ । विभागबाट स्वीकृति पाएपछि कम्पनीले उक्त मेशिन बनाउनुपर्ने हुन्छ, जुन अमेरिकामा निर्माण गरिनेछ । त्यो मेशिन बन्न पनि ३/४ महीना समय लाग्नेछ । मेशिन नेपालसम्म ढुवानी गर्न थप ३/४ महीनासम्म लाग्ने अनुमान गरिएको छ । त्यसैले १ वर्षपछि मात्र सुरुङ निर्माणको काम हुने विभागका प्रवक्ता नेपालको भनाइ छ । मेशिन बनाउनेदेखि ढुवानी गर्नसम्म १ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ ।

मेशिन आउनेबित्तिकै सुरुङ निर्माणको काम हुने गरी आवश्यक तयारी अगाडि बढाइने नेपालले बताए । ‘यो १ वर्षको अवधिमा मेशिन बनाउने र ल्याउने काम हुन्छ । त्यस सँगसँगै नेपालमा पनि आवश्यक तयारीको काम हुन्छ,’ उनले भने, ‘नेपालमा मेशिन आउन साथ सुरुङ निर्माणको काम अगाडि बढ्नेछ ।’

ठेक्काका लागि चीनकै सान्सी र सिनो हाइड्रोसहित तीनओटा कम्पनी अन्तिम प्रतिस्पर्धामा थिए । त्यसमा विभागले चाइना ओभरसिज इन्जिनियरिङ ग्रूपलाई छनोट गरेको थियो ।

उक्त आयोजनाअन्तर्गत सिन्धुलीको खुर्काेटमा रहको सुनकोशी नदीमा हेडवक्र्स बनाएर १३ दशमलव २ किलोमीटर लामो सुरुङबाट उक्त नदीको पानी सिन्धुलीकै कमलामाई नगरपालिकामा रहेको मरिन नदीको किनारमा पुर्‍याउने योजना छ । सोही सुरुङ निर्माण गर्न उक्त कम्पनीसँग ठेक्का सम्झौता गरिएको हो ।

सरकारले उक्त सुरुङ निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीसँग १० अर्ब ५ करोड रुपैयाँमा सुरुङ खन्ने गरी ठेक्का भएको हो ।

चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपले भेरी–बबई डाइभर्सन आयोजनामा पनि सुरुङ खन्ने काम गरेको थियो । आयोजनाको सुरुङबाहेक अन्य पूर्वाधार निर्माणको ठेक्का लगाउन स्रोत भने जुटिसकेको छैन । सिभिलतर्पmका हेडवक्र्स, सर्ज साफ्ट, पावरहाउस, हाइड्रोमेकानिकल लगायत पूर्वाधार निर्माणका लागि पनि ठेक्का लगाउनुपर्ने छ । यससम्बन्धी आवश्यक कागजपत्र अर्थ मन्त्रालयमा पठाइसकिएको छ । स्रोत जुटेपछि ठेक्का लगाउने विभागको भनाइ छ ।  आयोजनाको मुआब्जा वितरण, रूख कटानीलगायत अन्य पूर्वतयारी भने पूरा भएको छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विशेषगरी यो आयोजना सिँचाइ केन्द्रित नै हुनेछ । आयोजनालाई २०७६ माघमा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी तथा मरिन नदीको पानीलाई बाँध बाँधेर प्रदेश नम्बर २ मा सिँचाइ सुविधा पुर्‍याउने योजना छ । आयोजनाबाट बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ सुविधा पुग्नेछ । यसका अतिरिक्त पानी डाइभर्सन गर्दा २९ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने पनि योजना रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)