धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३ वर्षको अवधिमा १२८ किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकार गठनको सो अवधिमा ३२२ किलोमिटर खण्डास्मित (ग्राभेल सडक) र ७०८ किलोमिटर कच्ची सडक निर्माण गरेको छ ।
यसैगरी १० ओटा पक्की पुल र १८ ओटा झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जोशीले जानकारी दिए । गत आवदेखि क्रमागत रूपमा सञ्चालन भई चालू आवभित्रै निर्माण सम्पन्न हुनेगरी २०७ दशमलव ८ किलोमिटर पक्की सडक, ५९ किलोमिटर ग्राभेल सडक, २१५ किलोमिटर कच्ची सडक, पाँचओटा मोटरेबल पुल र ६ ओटा झोलुंगे पुल निर्माण तीव्र पारिएको जोशीले बताए ।
बहुवर्षीय ठेक्का सम्झौता गरिएका आयोजनाको निर्माण आगामी आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न हुनेछ । क्रमागत आयोजनाहरूबाट समेत गरी थप १६० दशमलव ४१ किलोमिटर पक्की, ४८ दशमलव ५ किमी ग्राभेल, २२८ किलोमिटर कच्ची सडक, १४ ओटा पक्की पुल र आठओटा झोलुंगे पुल निर्माण सम्पन्न सम्पन्न गर्ने सम्झौता गरिएको मन्त्रालयका इन्जिनीयर सुविक श्रेष्ठले जानकारी दिए ।
यसैगरी प्रत्येक जिल्लामा एउटा पर्नेगरी प्रदेशका नौओटै जिल्लामा महत्त्वपूर्ण सडक योजनालाई प्रादेशिक गौरवका योजनाको रूपमा छनोट गरी प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको इन्जिनीयर श्रेष्ठले बताए ।
प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ३ वर्षको अवधिमा लक्षित वर्गका परिवारका लागि १ हजार ७४६ ओटा निजी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
अहिलेसम्म ५७ ओटा सामुदायिक/सरकारी भवन निर्माण सम्पन्न गरिनुका साथै एक हजार निजी आवासको निर्माण चालू आवभित्रै सम्पन्न गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।
त्यस्तै क्रमागत रूपमा सञ्चालित १ हजार २५४ ओटा निजी आवास आगामी आव २०७८/७९ भित्रै सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम भइरहेको मन्त्रालयले बताएको छ । सामुदायिक/सरकारी भवन निर्माणतर्फ चालू आवभित्र ४५ र आगामी आव २०७८/७९ मा थप ३५ ओटा निर्माण सक्नेगरी काम भइरहेको मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।