ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक सञ्जालमा जोडियो म्याग्दीको कुइनेमंगले

२०७७ चैत, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । वर्षौंदेखि दुर्गम गाउँको परिचय दिनुपर्दा शुरूमै नाम लिइने म्याग्दीको कुइनेमंगले गाउँ सडक सञ्जालमा जोडिएको छ । सडक विस्तारसँगै अन्य पूर्वाधार विकास हुन थालेपछि यो  गाउँको परिचय नै फेरिएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेमंगलेको घ्यासीखर्कमा यातायका साधन पुगेको छ । गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै संघीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।

तीन वर्षको प्रयासपछि सडक निर्माणले पूर्णता पाएपछि फागुन दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमंगले गाउँसम्म सवारीसाधन पुगेका हुन् । २०७४ सालमा ट्र्याक खोल्न शुरू गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगंगा गाउँपालिका र तुदी पावर कम्पनीको गरी १८ करोडभन्दा बढी खर्च भएको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए । ‘सडक पुगेपछि यस क्षेत्रका तीन वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ,’ उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र संघीय सरकारबाट कुल ४ करोड ५ लाख ७२ हजार खर्च भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगत रूपमा १० लाख लगानी गरेका छन् ।

त्यसैगरी यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगंले क्षेत्रमा जलविद्युत् निर्माण शुरू गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले ११ करोड खर्च गरेको बताइएको छ । सडक डिभिजन कार्यालयले तीन वर्ष अवधिमा २ करोड ७६ लाख ४९ हजार विनियोजन गरेको पाइएको छ ।

गाउँसम्म सडको ट्र्याक खुलेपछि अहिले दैनिक जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल लगायत सवारी तथा ढुवानीका साधन चल्न थालेका छन् । यातायातका साधन सञ्चालनले गाउँ शहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ ।

२०६७ सालदेखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का अध्यक्ष रुकबहादुर गर्बुजाले बताए । उक्त सडक सञ्जालले यस क्षेत्रका करीब ५ हजार बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित बनेका छन् । यसअघि खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायत सामान ढुवानी गनुपर्ने अवस्था थियो । सडक पुगेपछि गाउँमा उत्पादित उपजको बजारीकरणमा सुविधा पुगेको छ ।

यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायत कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्‍याउने अपेक्षा गरिएको वडा–८ का अध्यक्ष गमान छन्त्यालले बताए । धवलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धनमा समेत सडकले सहयो पुग्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)