ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनका गरगहनाको आयात बढ्दो

२०७७ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।

गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैयाँ बराबरको १३ केजी सुनका गरगहना आयात भएको थियो । परिमाणका आधारमा चालू आवमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको देखिन्छ ।

नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ ।

पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन खोजेका छन् । फलस्वरूप पछिल्लो समय सुनका गरगहनाको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘नेपालमा पछिल्लो समय स्वदेशी डिजाइनका गरगहनाको हराउँदै गएको छ र विदेशी डिजाइनका गरगहनाको प्रयोग बढ्न थालेको छ,’ उनले भने, ‘त्यो अवस्थामा तयारी सुनका गरगहनाको आयात बढ्न थालेको हो ।’ यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि सुनका गरगहना ल्याउने गरेको बताइएको छ ।

नेपालमा पछिल्लो समय सुनका गरगहना बनाउने जनशक्ति, आवश्यक मेशिनहरू पर्याप्त मात्रामा छन् । उनीहरूबाट विश्वमा प्रचलित अधिकांश डिजाइनको गरगहना बनाउन सकिन्छ । तर, यो अवस्थामा सुनका गरगहना आयात हुन उचित विषय नभएको व्यवसायीहरू बताउँछन् । आयात प्रतिस्थापनका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात विस्थापन गर्नुपर्ने बताए । ‘सुनका गरगहना आयात हुनु निश्चित व्यापारीका लागि फाइदाजनक भए पनि समग्र मुलुकका लागि भने घातक नै हो । त्यसैले यसको विस्थापन गर्नुपर्छ,’ उनले भने, ‘नेपालको सुनचाँदी व्यवसायी क्षेत्र कुनै पनि डिजाइनका गरगहना बनाउन तयार छ । त्यसैले सुनका गरगहनाको आयात विस्थापन गर्न सरकारले नै नीति ल्याउनुपर्छ ।’

सुनका गरगहनाको आयात विस्थापन गरेर काँचो सुनको आयातमा लगाइएको सीमालाई बढाउनुपर्ने उनको भनाइ छ । ‘अहिले हामीलाई काँचो सुनको अभाव भइरहेको छ । तर, सरकारले दैनिक १० केजी मात्र सुन आयात गर्न दिएको छ,’ उनले भने, ‘अब सुनका गरगहनाको आयातलाई विस्थापन गर्दै काँचो सुनको आयात तोकिएको सीमा बढाउनेतर्पm सरकारले जोड दिनुपर्छ ।’

सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु राम्रो हुन्छ । सोही विषयलाई दृष्टिगत गर्दै सरकारले पनि सुनका गरगहनामा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो । व्यवसायीहरूको मागमा नै सरकारले यस्तो व्यवस्था गरेको थियो ।

भन्सार शुल्क बढाएपछि आयात घट्ने अपेक्षा गरिएको थियो । तर, भन्सार बढाउँदा पनि त्यसको आयातमा कुनै कमी नआएको महासंघका पूर्वअध्यक्ष शाक्यले बताए । अब सरकारले यसका लागि थप पहलहरू गर्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)