ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९०% सम्म पुग्ने

२०७७ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको छ । कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । आइतवार काठमाडौंको महाँकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण शुरू गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डीप ट्युबवेल बन्द गरिने बताइएको छ ।

केयूकेएलले अहिले पनि डीप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल विस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करीब ५० डीप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डीप ट्युबवेलहरू बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।

बूढानीलकण्ठ, बाँसबारी क्षेत्रमा विष्णुुमतीको मुहानबाट पानी आउँछ । फर्पिङ, गोदावरी, चापागाउँमा पनि आन्तरिक मुहानबाटै पानीको भरथेग हुँदै आएको छ । यस्तै भक्तपुरमा बोडेको पानी पनि छ । बोडेको पानी जडीबुटी हुँदै मीनभवनको पानी ट्यांकीमा आउँछ । अहिले मेलम्चीको पानी आएपछि बोडेको सिस्टमलाई सोही स्थानबाटै बन्द गरेर भक्तपुर क्षेत्रमै वितरण गरिनेछ ।

आन्तरिक मुहान, सुन्दरी जल, डीप ट्युबवेलबाट पानीको भरथेग भइरहेकोमा मेलम्चीको पानी थपिएको हो । अहिले उपत्यकाका भक्तपुर, आरुबारी, बालाजु, बाँसबारी, कीर्तिपुरलगायत १४ स्थानमा करोडौं लिटर क्षमताका पानी ट्यांकी छन् । त्यहीँबाट मेलम्चीको पानी पनि वितरण हुने गरेको छ । हाल पुराना पानी पोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइनमार्फत पानी दिइने भएको छ । यस्तै आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइन परीक्षण गरेर पानी थप्दै जाने योजना छ ।

सोही योजना अन्तर्गत पहिलो चरणमा आइतवार दिनभर ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरूमा जम्मा गरिएको हो । आइतवार नै खोलिएका भल्भहरूबाट देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाइट, धनवन्तरीमार्ग लगायत क्षेत्रका धारामा पानी वितरण शुरू गरिएको छ । यस्तै, दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा समेत ६ करोेड ५० लाख लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानीपोखरी समेत गरी ८ करोड ५० लाख लिटर पानी वितरण हुनेछ ।

यो कार्य एक हप्ताभित्र गरिसक्ने तयारी केयूकेएलको छ । सुन्दरीजलको दोस्रो प्लान्टबाट आउने थप ८ करोड ५० लाख लिटर पानी भने चौथो चरणमा अन्य स्थानमा वितरण हुनेछ । केयूकेएलको समयतालिका अनुसार चौथो चरणमा कीर्तिपुर, ठिमी, भक्तपुरस्थित पोखरीहरूको समेत गरी चैत अन्तमसम्ममा कुल १७ करोड लिटर पानी जम्मा हुनेछ । ती पोखरीबाट काठमाडौं उपत्यकाका चक्रपथभित्र र आसपासका क्षेत्रमा पानी वितरण गरिने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्यले जानकारी दिए । केयूकेएलबाट वितरण हुने पानीको परिमाणको आधारमा वितरण तालिका तयार गरी सकभर दैनिक वा नभए दिन बिराएर वितरण गरिने शाक्यले बताए । त्यसको जानकारी कम्पनीले सम्बन्धित शाखा कार्यालयको फेसबुक, सूचना र जनसम्पर्क इकाइमार्फत उपलब्ध गराउने भएको छ । साथै कहीँकतै पानी चुहावट, पानी नआएमा र अन्य कुनै समस्या भएमा केयूकेएलको एप, ईमेल तथा एसएमएसमार्फत जानकारी दिन सकिनेछ । मेलम्ची खानेपानी विकास समितिको एक अध्ययनअनुसार हाल उपत्यकामा दैनिक ३५ करोडदेखि ४० करोड लिटरसम्म खानेपानीको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)