ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका ट्रेकिङ व्यवसायीको पीडा :  बन्दाबन्दी खुल्यो,व्यवसाय खुलेन 

२०७७ चैत, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १७, कास्की । कोरोना संक्रमणका कारण विश्वको चर्चित अन्नपूर्ण पदयात्रामा जाने पर्यटक नपाउँदा ट्रेकिङसँग सम्वद्ध व्यवसाय संकटमा परेको छ ।

बन्दाबन्दी खुलेको लामोसमयसम्म पनि अन्नपूर्ण पदयात्रामा जाने आन्तरिक तथा बाह्यि पर्यटक नआएपछि पथप्रदर्शक (ट्रेकिङ गाइड) र सम्वन्धित व्यवसायीहरु धरासयी बनेका हुन् । 

बन्दाबन्दी खुलेको लामोसमय बितिसक्दासमेत भ्रमणका लागि चर्चित गन्तव्यमा जाने आन्तरिक तथा बाह्यि पर्यटक नआउँदा वर्षौंदेखि पथप्रदर्शक व्यवसायमा संलग्न ठूलो संख्याका मजदूर र त्योसँग सम्वन्धित व्यवसायमा संलग्न व्यवसायीहरु समस्यामा परेका हुन् ।

गत मंसिरदेखि पूर्णरुपमा लकडाउन हटेपछि आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत मिलेपनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी भने समस्यामा छन् । 

आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न पर्यटकीय गन्तव्यसम्म पदयात्रा गराउने गाईड, मजदूर र ट्रेकिङसंग सम्वद्ध अन्य व्यवसायीले लामो समयदेखि समस्या झेल्दै आएका छन् । विश्वको चर्चित पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर जाने पर्यटक नपाउँदा उनीहरु समस्यामा परेका हुन् । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी समस्यामा परेका हुन् ।

अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० ओटा उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमाल अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री वर्षेनी ठूलो संख्यामा आउने गर्दछन् । पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा वर्षेनी हजारौं पर्यटकहरु पुग्ने गर्दछन् । 

गत वर्ष चीनको वुहान प्रान्तमा संक्रमण देखिएपछि जारी गरिएको बन्दाबन्दी खुलेसँगै पोखराको पर्यटन व्यवसाय तंग्रिएपनि पदयात्रामा जाने पर्यटक नहुदा व्यवसाय संकटमा परेको ट्रेकिङ्ग व्यवसायी पूर्णजित तामाङ बताउँछन् । गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेपछि ट्रेकिङ्ग व्यवसाय संकटमा परेको उनले बताए ।

सरकारले बन्दाबन्दी खोलेपछि अन्य पर्यटन व्यवसायले विस्तारै गतिलिदै गएपनि ट्रेकिङ्गसँग सम्वद्ध सवै व्यवसाय अहिलेसम्म पनि संकटमै रहेको उनले बताए । लामो समयसम्म व्यवसाय ठप्प भएकाले दैनिक घरखर्च चलाउनका आफन्तसँग ५ लाख रुपैयाँ ऋण काढेको तामाङले बताए ।

‘व्यवसाय पूर्ववत अवस्थामा फर्किने आसमा आफन्तबाट ऋण काढेर घरखर्च चलाउदै आएको छु’, उनले भने, ‘व्यवसायमा सुधार हुने आशमा साथीभाईसँग हातेसापट गरेर घरखर्च र छोराछोरीको स्कूलको फी तिर्दै आएको छु ।’उनले बन्दाबन्दि हटाएपछि आन्तरिक तथा बाह्यि पर्यटक आगमनमा उल्लेख्य प्रगतिको अपेक्षा गरेको भएपनि लामोसमय वितिसक्दासमेत विदेशी पर्यटक आगमन ठप्प भएको बताए ।

‘व्यवसायीले बन्दाबन्दी खुलेपछि यस्तो अवस्था होला भन्ने कल्पनै गरेका थिएनन्’, उनले भने, ‘पर्यटन व्यवसायमा यस्तो सन्नाटा छाउला जस्तो लागेको थिएन ।’

ट्रेकिङ्ग व्यवसायी तामाङ अन्नपूर्ण पदयात्रामा पर्यटकसँग नगएको पनि एक वर्ष पुगेको बताउँछन् । ‘पहिले वर्षदिनमा दर्जनौं पटक आउजाउ गर्ने अन्नपूर्ण पदयात्रा, अहिले, वर्षदिनसम्म पनि जान पाइएन’, उनले भने ।

पदयात्रामा जाने अधिकांश विदेशी पर्यटक भएको र अहिले उनीहरुको आगमन नभएका कारण ट्रेकिङ व्यवसायी समस्यामा परेको ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष शुशिल राज पौडेलले बताए ।

‘बाह्य पर्यटकको आगमन नभएकाले अहिले सबैभन्दा बढी समस्यामा ट्रेकिङ व्यवसायी रहेका छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रका अन्य व्यवसायमा आन्तरिक पर्यटकको आगमनसँगै केही सहज भएको छ, तर, बाह्य पर्यटकको भरमा रहेका ट्रेकिङ व्यवसायी अति नै प्रभावित भएका छन् ।’

कोरोना संक्रमणको मारमा परेका ट्रेकिङ व्यवसायीको लागि सरकारले अहिलेसम्म कुनै पनि सहयोग नगरेको उनले गुनासो गरे । ‘पर्यटन क्षेत्रमा लामो समयसम्म मारमा परेका ट्रेकिङ व्यवसायीको उद्धारका लागि सरकारले अहिलेसम्म कुनै सहयोग गरेन’, उनले भने । 

अध्यक्ष पौडेलले लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीलाई दैनिक रोजीरोटीको समस्या परेको बताए । एक वर्षसम्म व्यवसाय ठप्प भएपछि ट्रेकिङसँग सम्बद्ध व्यवसायीले घरभाडा, दैनिक खर्च, छोराछोरीको स्कूल फी लगातका समस्याले सताउने गरेको बताएका छन् । लामो समय व्यवसाय थलापरेपछि करीब ५० प्रतिशत व्यवसायी व्यवसाय छाडेर अन्यत्र लागेको उनले बताए । 

‘अब पनि व्यवसायले गति नलिने हो भने व्यवसाय त्यागेर गाउँ पस्नुको विकल्प छैन’, उनले भने । कोरोनाका कारण थला परेको ट्रेकिङ व्यवसाय अझै दुई वर्षसम्म उठ्न सक्ने अवस्था नरहेको पनि उनले बताए । करीब २५ वर्षदेखि पर्यटक पथप्रदर्शक(गाइड) को काम गर्दे आएका शेषकान्त शर्माले अन्नपूर्ण पदयात्रामा जाने पर्यटक नआएका कारण ट्रेकिङ व्यवसायमा आवद्ध पथप्रदर्शकदेखि व्यवसायीसम्म समस्यामा परेको बताए । 

नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्षसमेत रहेका शेषकान्त शर्माले साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा जाने आन्तरिक पर्यटक फाटफुटरुपमा जान थालेको बताए ।

‘बन्दाबन्दीले लामोसमय ठप्प भएको पदयात्रा माघबाट खुलेपछि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ’ उनले भने, ‘छिटफुटरुपमा आन्तरिक र भारतीय पर्यटकहरु पदयात्रामा जानेक्रम बढेको छ, अब, विस्तारै पर्यटक आगमन वृद्धि हुने आश बढेको छ ।’

विगत १० बर्षदेखि लेकसाइडमा ट्रेकिङ व्यवसाय गर्दै आएका गोर्खा जिल्लाका शिशिर क्षेत्रीले विसं २०७२ को महाभूकम्पको भन्दा पनि कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए ।

‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘विसं २०७२ को भूकम्प जाँदाको अवस्थामा पनि यस्तो भएको थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठप्पै भयो ।’ आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत दिए पनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी भने समस्यामा छन् । 

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले टान पोखराले केही समय पहिले अन्नपूर्ण पदयात्रामा पर्ने विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्द्धनात्मक कार्यक्रमसमेत गरेको थियो । संघले मादी गाउँपालिकाका ताङतिङ, क्रपुडाँडा, क्होलार्सोंथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको एकसाता लामो प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)