ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टनकपुरबाट बिजुली नआउँदा पश्चिमका उद्योग प्रभावित

२०७७ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । गत शनिवारदेखि भारतको टनकपुरबाट नेपालमा आयात हुने बिजुलीको आपूर्ति पूर्ण रूपमा बन्दा हुँदा त्यसको असर पश्चिम भेगका उद्योगहरूमा देखिन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण थलिएका उद्योगहरूले सिजनको मौका समात्दै क्रमशः उत्पादन क्षमता बढाउन थालेका बेला केही दिनदेखि विद्युत् आपूर्तिमा समस्या हुँदा कलकारखाना तथा उद्योग नै बन्द गर्नु परेको बताएका छन् ।

नेपाललाई १ हप्ताका लागि बिजुली उपलब्ध गराउन नसक्ने भन्दै भारतले चैत १४ गतेदेखि विद्युत आपूर्ति बन्द गरिदिएको छ । भारतस्थित टनकपुरमा मर्मतसम्भारको काम चलिरहेको भन्दै उसले नेपालले आयात गर्दै आएको ८५ मेगावाट (मेवा) बिजुलीको आपूर्ति बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । मुलुकको पश्चिमी भेगमा ठूला लगानी भएका सिमेन्ट उद्योगहरू र खाद्यान्नलगायत अन्य उद्योगले पिक आवरमा बिजुली पाउन सकेका छैनन् ।

पश्चिम भेगमा अहिले ठूलो लगानीका सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । सगरमाथा, सोनापुर, सम्राट सिमेन्ट, रोल्पा, अग्नि ग्रूपको शुभश्री सिमेन्टजस्ता उद्योगहरू त्यस भेगमा छन् । सिजनका बेला बिजुली आपूर्तिमा भइरहेको समस्याले बुटवलदेखि पश्चिमका साना ठूला उद्योगहरू प्रभावित भएको एक व्यवसायीले बताए । त्यस भेगका सिमेन्ट उद्योगहरूले उत्पादन नै बन्द गर्नुपरेको ती लगानीकर्ता बताउँछन् ।

शुभश्री अग्नि सिमेन्टका प्रबन्ध निर्देशक (एमडी) ताराप्रसाद पोखरेलले अहिले उद्योगको उत्पादन नै बन्द गर्नु परेको बताए । ‘फ्याक्ट्रीहरू २४ घण्टा बन्द गर्दा निकै गाह्रो हुन्छ,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्न पिक आवरमा बिजुली नदिए पनि अरू समयमा नियमित बिजुली उपलब्ध गराउने वातावरण मिलाउनेतर्पm ध्यान दिन आवश्यक छ ।’

उद्योगहरूका लागि १ हप्ता बिजुली नआउनु ठूलो समस्या रहेको भन्दै उनले मर्मतसम्भारको काम लम्बिएमा अहिले जस्तै उत्पादन नै बन्द गर्नुको कुनै विकल्प नभएको गुनासो गरे । विद्युत् उत्पादन बढ्दै जाँदा नेपालले बिजुली निर्यातका विषयलाई प्राथमिकताका साथ अघि बढाए पनि आयातमा केही समस्या हुनासाथ नेपालका उद्योगहरूले उत्पादन नै बन्द गर्नुपर्ने अवस्था रहेको छ । उद्योग नै बन्द हुनेगरी विद्युत् आपूर्ति रोकिन नदिन आन्तरिक प्रणाली दिगो बनाउन ढिलाइ गर्न नहुने व्यवसायीको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने उद्योगहरूलाई केही दिनमै पहिलाकै जस्तै नियमित बिजुली उपलब्ध हुने बताए । ‘अहिले टनकपुरमा मर्मतसम्भार गर्ने भन्दै भारतले नेपाललाई जानकारी दिएर १ हप्ताका लागि मात्रै विद्युत् आपूर्ति बन्द गरेको हो,’ तिम्सिनाले भने, ‘टनकपुरबाटै बिजुली नआएकाले यहाँ भएको र ढल्केवरबाट आउने लाइनबाट पनि दिन नभ्याउने भएकाले पीक आवरमा केहीकेही घण्टा मात्रै बिजुली आपूर्ति बन्द भएको हुन सक्छ ।’ उनले बढीमा १ हप्तासम्म मर्मतसम्भार गर्न लाग्ने जानकारी आएकाले त्यसपछि छिटै नै पश्चिमतिरका उद्योगहरूले नियमित रूपमा बिजुली पाउने जानकारी दिए । त्यहाँबाट आउने बिजुली नै बन्द हुँदा केही चाप बढ्दा उद्योगहरूले बिजुली पाउन नसकेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)