चैत १९, धनगढी । धनगढीमा दुई करोड रुपैयाँ लगानी गरेर सिताज फूड एण्ड बेभरेज ईण्डष्ट्रिज नामक जुस उद्योग स्थापना गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका पुर्व महासचिव मोहनराज शर्माले धनगढी उपमहानगरपालिका–१ बुद्ध चोकमा ग्यासरहित जुस उद्योग स्थापना गरेका हुन् ।
दैनिक ५० हजार युनिट विभिन्न साइजमा जुस उत्पादन क्षमताको आधुनिक र सुविधासम्पन्न उपकरण आयात गरी वैशाख पहिलो सातादेखि सीतास ब्राण्डका जुस बजारमा ल्याउने गरी उद्योग निर्माण र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उद्योगका सञ्चालक शर्माले जानकारी गराए ।
यसअघि सुदूरपश्चिममै पहिलो पानी प्रशोधन उद्योग अपि ब्राण्डमा सञ्चालनमा ल्याउन सफल उद्योगी शर्माले नेपालभरी नै सिताज ब्राण्डका जुसको विक्रीका लागि विभिन्न जिल्लामा डिलर नियुक्त गर्ने प्रक्रियासमेत शुरु भइसकेको बताए । हामी वैशाखको पहिलो सातादेखि लिची र म्यागों स्वादमा गरी दुई प्रकारका जुस बजारमा ल्याउने योजनामा छौं, सञ्चालक शर्माले भने ।
२५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने उक्त उद्योग ग्यासरहित भएकाले यसप्रकारको उद्योग प्रदेशमै पहिलो भएको उनले बताए ।
उद्योगले अहिले परिक्षणको रुपमा उत्पादन गरिरहेको छ, उच्च प्रविधिको उपकरण जडान गरिएकाले परिक्षणको रुपमा उत्पादन गरिएका जुसको गुणस्तर अपेक्षाकृत देखिएको सञ्चालक शर्माको भनाइ छ ।
देशव्यापी रुपमा आफ्ना उत्पादन विक्रीवितरणका लागि आवश्यक सवै तयारी भइरहेको उनले बताए ।
विदेशी उत्पादनसँग सहजै रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरी भारतको गोवाबाट कञ्चापदार्थ आयात गरी विभिन्न आकारप्रकार स्वादमा ग्यासरहित जुस उत्पादन गर्ने उद्देश्यसहित यसप्रकारको उद्योग सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ ।