ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार हुँदै

२०७७ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले सञ्चालन गरेको ४ वर्षपछि स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा विस्तार हुने देखिएको छ । सरकारले विसं २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । शुरू गरेको वर्ष नै सबै जिल्लामा यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको थियो । तर, ४ वर्षपछि मात्र स्वास्थ्य बीमा ७७ जिल्लामा नै पुग्ने लागेको हो ।

हालसम्म ६९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । बाँकी ८ जिल्लामा भने यसै आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुने स्वास्थ्य बीमा बोर्डको भनाइ छ । ६ जिल्लामा यही चैत २५ गते एकैपटक यो कार्यक्रम आरम्भ गर्ने बोर्डको तयारी छ ।

बोर्डले चैत २५ गते ५ औं वार्षिकोत्सव मनाउँदै छ । त्यस अवसरमा मनाङ, मुस्ताङ, ताप्लेजुङ, बारा, सर्लाही र दोलखामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसलगत्तै केही समयमा नै काठमाडौं र ललितपुरमा पनि स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन गरिने बोर्डका सूचना अधिकारी हिमाल ज्ञवालीले बताए ।

‘हालसम्म ६९ जिल्लामा यो बीमा कार्यक्रम विस्तार भइसकेको छ । चैत २५ गते वार्षिकोत्सवको अवसरमा ६ जिल्लामा यो कार्यक्रम विस्तार हुन्छ,’ उनले भने, ‘त्यसपछि चालू आवमा नै काठमाडौं र ललितपुरमा पनि यो कार्यक्रम विस्तार हुन्छ । त्यसपछि स्वास्थ्य बीमाको पहुँच सबै जिल्लामा विस्तार हुन्छ ।’

पहिलो चरणमा कैलाली, बागलुङ र इलामबाट यो कार्यक्रम शुरू गरिएको थियो । शुरूका वर्षहरूमा यस कार्यक्रमको विस्तार व्यापक मात्रामा भएको थिएन । तर, अहिले करीब सबै जिल्लामा यो कार्यक्रम विस्तार हुने पक्का भएको छ । अब काठमाडौं र ललितपुरमा यो कार्यक्रम शुरू गर्न कुनै समस्या नहुने बोर्डको भनाइ छ ।

सरकारले सबै नेपालीहरूको स्वास्थ्य औषधोपचारमा सहयोग पुर्‍याउने गरी यो कार्यक्रम सञ्चालनमा गरेको थियो । बोर्ड तथ्यांकअनुसार हालसम्म ३७ लाख ४९ हजार ६२४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

‘स्वास्थ्य बीमा नियमावली, २०७५’ अनुसार यस सेवामा सहभागी हुन पाँच सदस्यीय परिवारले वार्षिक रू. ३ हजार ५०० बीमाशुल्क तिर्नुपर्छ । यसबापत उनीहरूले रू. १ लाखसम्मको सुविधा उपभोग गर्न पाउँछन् ।

यस्तै, पाँचभन्दा बढी सदस्य रहेको परिवारको हकमा जनही रू. ७ सयका दरले बीमाशुल्क तिर्नुपर्छ । बीमांक पनि सोहीअनुसार बढ्ने व्यवस्था छ । पहिले एक परिवारले रू. ५० हजारसम्मको सेवासुविधा पाउने व्यवस्था थियो ।

बीमा गर्दा प्रिमियममा परिचयपत्र प्राप्त अति गरीबले शतप्रतिशत, गरीबले ७५ प्रतिशत र सीमान्तकृतले ५० प्रतिशतसम्म छूट पाउँछन् । स्वास्थ्य बीमाले भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरणजस्ता उपचारात्मक सेवा लिन पाउँछन् । साथै, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा दिइन्छ । तोकिएभन्दा बढी रकमको चश्मा, स्वास्थ्यसम्बन्धी यन्त्र, प्लास्टिक सर्जरी र कृत्रिम गर्भाधानलाई भने स्वास्थ्य बीमाले समेट्दैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Raj Kumar Koirala

[Apr 2, 2021 03:45am]

Swasthya Bima kasari ko bat garauna sakinchha .k k Document chahinchha ra arkam kaslai bhujhaune ? bahira ka karmachari ra kamdarharule bima garna pauchha ki paudaina pasta pari diya ramro hunethiyo.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)