चैत २१, पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनर्निर्माणको प्रगति सार्वजनिक गर्दै ७३ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।
पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनर्निर्माण सकिएपनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनर्निर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए ।
जिल्लामा २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएका १५३ ओटा विद्यालय पुनर्निर्माणको सूचीमा थिए । जिल्लामा १५३ ओटा विद्यालयको पुननिर्माण, ४४ ओटा विद्यालयको शौचालय र ४१ ओटा विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना संक्रमणका कारण गतवर्ष काम गर्न समस्या भएपनि कोरोना नियन्त्रण उन्मुख भएपछि विद्यालय पुनर्निर्माणले गति लिएको बताए ।
कोरोना नियन्त्रण पश्चात ३ ओटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महीनाभित्र काम सक्ने जानकारी दिएका छन् । आगामी पुष सम्ममा सबै विद्यालयको पुनर्निर्माण सक्नुपर्ने बाध्यता छ । पुनर्निर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि थपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताए ।
जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० ओटा विद्यालयमा दुई कोठे, ४ ओटा विद्यालयमा ३ कोठे र ३९ ओटा विद्यालयमा २ कोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनर्निर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए ।
भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केहि मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनर्निर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहि अनुसार विद्यालयका भवन पुनर्निर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।