ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ ऋणीको संख्या ६.९१% ले वृद्धि

२०७७ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोभिड महामारीको सामना गरेको करीब १ वर्षका बीचमा नयाँ कर्जा प्रवाहमा चुनौती भएको बैंकरहरूले बताउँदै आए पनि पछिल्लो समयमा समग्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या बढेको छ ।

चालू आर्थिक वर्ष (आव) (२०७७/७८) को फागुनसम्ममा समग्रमा नयाँ ऋणी संख्या ६ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा नयाँ ऋणी १ लाख ३४ हजार थपिएका छन् । गत आव २०७६/७७ फागुनको तुलनामा यो वृद्धिदर ३ दशमलव २५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो वृद्धिदर १० दशमलव १५ प्रतिशत थियो । अर्थात् नयाँ ऋणी १ लाख ३८ हजार थपिएका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा बैंकबाट ऋण लिनेको संख्या १६ लाख १ हजार ९ सय ५७ जना पुगेको छ । विसं २०७६ फागुनमा ऋणीको संख्या १४ लाख ९८ हजार रहेको थियो । विसं २०७५ फागुनमा यस्तो ऋणीको संख्या १३ लाख ६० हजार थियो । ऋणीको संख्या प्रत्येक वर्ष बढ्दै गए पनि चालू आव शुरू हुनु अघिदेखि कोभिडले गर्दा नयाँ ऋण प्रवाहमा प्रभाव परेको थियो । यसले गर्दा गत चैत, वैशाख र जेठमा नयाँ कर्जा प्रवाह गर्न सकेका थिएनन् ।

यसपछिका अवधिमा कर्जा प्रवाह केही बढिरहेको छ । वाणिज्य बैंकहरूले फागुनसम्ममा थप १ लाख ३१ हजार (११ दशमलव ८१ प्रतिशत) कर्जा दिएको छ । त्योे दरमा नयाँ कर्जा थपिँदा फागुन मसान्तसम्म २७ वाणिज्य बैंकको १२ लाख ४५ हजार २ सय ७१ ओटा कर्जाको खाता पुगेको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा खाता कुल ११ लाख १३ हजारको थियो ।

यस अवधिमा वाणिज्य बैंकको नयाँ कर्जाको खाता बढेको देखिए पनि विकास बैंकको भने वृद्धिदरमा कमी आएकोे छ । गत आवको फागुनको तुलनामा चालू आवको फागुनमा विकास बैंकको कर्जा खाताको वृद्धिदर ८ दशमलव ४८ प्रतिशतले संकुचन आएको छ । अर्थात् २८ हजार ८ सय ४१ ओटा खाता घटेको छ । यस अवधिमा १९ ओटा विकास बैंकको ऋण खातासंख्या कुल ३ लाख ११ हजार १४७ मा सीमित छ । गत आवको फागुनमा यस्तो संख्या ३ लाख ३९ हजार ९८८ थियो ।

यसरी विकास बैंकको कर्जा खाता संख्यामा संकुचन आउनुको कारण वाणिज्य बैंकसँग मर्जर तथा प्राप्तिको प्रभावले गर्दा भएको नेपाल डेभलपमेन्ट बैंकर्स संघको भनाइ छ ।

यस अवधिमा गण्डकी विकास बैंकसँग मेगा बैंक, कुमारी बैंकसँग देव विकास बैंकलगायत विकास बैंकहरू मर्जर तथा प्राप्ति हुँदा ऋणीको खाता संख्या वाणिज्यतर्फ सरेको संघका वरिष्ठ उपाध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन् । ‘यस्ता विकास बैंक वाणिज्य बैंकसँग मिसिएकाले विकास बैंकहरूको कर्जा खाता संख्यामा कमी आएको र वाणिज्य बैंकमा थपिएर बढी देखिएको हो,’ उनले भने । यद्यपि बन्दाबन्दी केही खुकुलो भएसँगै विकास बैंकहरूको कुल लगानीमा सुधार भएको उनको भनाइ छ ।

यसैगरी, फागुन महीनासम्ममा २० ओटा ‘ग’ वर्गका वित्त कम्पनीहरूको कर्जा खाता संख्या थप ७ सय ७९ले वृद्धि भएको छ । गत आवको फागुनको तुलनामा चालू आवका यस्तो संख्या वृद्धिदर १ दशमलव ७४ प्रतिशतले बढी कुल ऋणी संख्या ४५ हजार ५ सय ३९ पुगेको छ । गत आवको फागुनसम्ममा वित्त कम्पनीको कुल कर्जा खाता संख्या ४४ हजार ७६० ओटा थियो ।

यसबीच बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा वाणिज्य बैंकहरूले स्किमसहित कर्जाको ब्याजदर ह्वात्तै घटाएर ऋणीलाई आकर्षित गरेकाले केही ऋणीले वित्त कम्पनी छाडेकाले अपेक्षाअनुसारको कर्जा खाता संख्या नबढेको वित्त कम्पनी संघको भनाइ छ ।

अहिले आएर ऋणी तानातानको प्रवृत्ति देखिएको छैन । तर, यसअघिका केही महीनामा केही ऋणीले सस्तो ब्याज खोजेर ऋण स्वाप गरेर अर्को बैंकमा समेत सरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)