ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अजोड इन्स्योरेन्सको हकप्रद निष्कासन रोक्ने बीमा समितिको तयारी

२०७७ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रस्तावित हकप्रद निष्कासनमा रोक लगाउने तयारी गरेको छ । कम्पनीको सञ्चालक समितिले गतहप्ता हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सो प्रस्ताव आगामी वैशाख ७ गते आह्वान गरिएको कम्पनीको वार्षिक साधारणसभामा पेश हुँदै छ । तर, समितिले कम्पनीको उक्त हकप्रदको निष्कासनमा रोक लगाउने तयारी गरेको छ ।

अजोड कम्पनी सञ्चालनमा आएको ३ वर्ष मात्र भएको छ । कम्पनीले हालसम्म शेयरधनीहरूलाई लाभांश पनि दिएको छैन । त्यसमाथि सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेको पनि वर्ष दिन भएको छैन । यस अवस्थामा कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिन उचित नहुने बीमा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले बताए । कम्पनीको हकप्रद निष्कासन प्रक्रिया रोक्ने गरी आधिकारिक निर्णय गरिने उनको भनाइ छ ।

‘कम्पनी सञ्चालनमा आएको भर्खर ३ वर्ष भएको छ । शेयरधनीलाई लाभांश दिएको पनि छैन । यो अवस्थामा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिन सकिँदैन,’ उनले भने, ‘कम्पनीको तोकिएको पूँजी पुगिसकेको छ । बोनस शेयरमार्फत थप पूँजी बढाउँछ भने ठीक छ । तर, हकप्रदमार्फत पूँजी बढाउन दिन सकिँदैन ।’

अहिले कम्पनी पूँजी बढाउनभन्दा पनि शेयरधनीलाई उचित लाभांश दिने, बीमा सेवा प्रभावकारी बनाउने तथा व्यवसाय वृद्धि गर्ने विषयमा केन्द्रित हुनुपर्ने समितिको भनाइ छ ।

‘कम्पनीले नगद लाभांश बोनस शेयर जारी गर्छ भने ठीक छ, हकप्रद शेयर नै किन जारी गर्नुपर्‍यो ?,’ आर्थिक अभियानसँग अध्यक्ष सिलवालले भने ।

कम्पनीको यो प्रस्ताव साधारणसभाको सूचनामा उल्लेख छ । तर, यससम्बन्धी जानकारी बीमा समितिमा आधिकारिक रूपमा पुगेको छैन । साधारणसभाले यो प्रस्ताव पारित गरेपछि कम्पनीले बीमा समितिमा स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले समितिमा आधिकारिक रूपमा जानकारी दिएपछि समितिले यस सम्बन्धमा निर्णय गर्ने छ । अध्यक्ष सिलवाले पनि हालसम्म यस सम्बन्धमा समितिमा कुनै जानकारी नआएको बताए ।

यस विषयले कम्पनीको शेयर मूल्यमा परेको प्रभावका समितिको ध्यानाकर्षण भएको उनको भनाइ छ । ‘कम्पनीले शेयर मूल्य बढाउन पनि यस्तो खेल खेलेको हुन सक्छ । तर, कम्पनीको काम शेयर मूल्य बढाउनेतिर होइन,’ उनले भने । बीमा समितिले नयाँ कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न नदिने नीति बनाउन लागेको हो ।

आईएमई जनरल इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । ‘पुराना कम्पनीहरूका विषय भने फरक भइहाल्यो । तर, हाललाई नयाँ बीमा कम्पनीहरूको हकप्रद निष्कासनको विषयमा निर्णय गर्छाैं,’ अध्यक्ष सिलवालले भने ।

अजोड इन्स्योरेसको सञ्चालक समितिको गत हप्ता सोमवार (चैत १६ गते) बसेको बैठकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो, जुन निर्णय औपचारिक रूपमा मंगलवार (चैत १७ गते) सार्वजनिक गरिएको थियो । तर, सोमवार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्नुका साथै ठूलो परिमाणमा किनबेच भएको थियो । त्यसपछि अजोड इन्स्यारेन्सको शेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) भएको आरोप लागेको छ ।

सोही आरोप लगाउँदै लगानीकर्ताहरूले नै कम्पनीविरुद्ध महानगरीय प्रहरी कार्यालय, काठमाडौंमा गतहप्ता नै उजुरी दिएका थिए । गत मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिन सोमवार कम्पनीको शेयर मूल्य अस्वाभाविक बढेकाले इन्साइडर ट्रेडिङ भएको लगानीकर्ताहरूको दाबी छ ।

नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा अध्ययन गर्न सोमवार एक उपसमिति गठन गरेको छ । उपसमिति गठन गरी आवश्यक जाँचबुझ कार्य अगाडि बढाइसकेको र भित्री कारोबार भएको पाइएमा कारबाहीसमेत गरिने धितोपत्र बोर्डको प्रतिबद्धता छ । अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ भएको समाचार सार्वजनिक भएपछि र लगानीकर्ताबाट गुनासो पनि आएपछि यसमा आफ्नो ध्यानाकर्षण भएको बोर्डको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्जले अजोड इन्स्योरेन्सको चैत १६ गते (इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको दिन) भएको शेयर कारोबारको विवरण बोर्डमा बुझाएको छ । यसरी आवश्यक विवरण प्राप्त भएपछि अध्ययन अगाडि बढाइएको बोर्डको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)