ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यावसायिक शीपमार्फत आत्मनिर्भर बन्दै महिला

२०७७ चैत, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी गंगा लामिछाने कुश्मा बजारमा ब्युटिपार्लर व्यावसाय सञ्चालन गरिरहेकी छिन् । व्यावसायिक तथा शीप विकास तालीम केन्द्रबाट तालीम लिएकी लामिछानेले त्यसको उपयोग गर्दै २ वर्ष अघिदेखि सो गर्दै आएकी हुन् ।

‘ब्युटिपार्लर खोल्ने ठूलो रहर थियो,’ लामिछानेले भनिन्, ‘तालीम लिएलगत्तै शुरू गरेँ । अहिले यही व्यवसाय कमाउने माध्यम बनेको छ ।’

लामिछाने जस्तै स्थानीय राजकुमारी राना पनि ब्युटिपार्लर व्यवसायबाटै स्वरोजगार बनेकी छिन् । ‘६ महीना तालीम सिकेँ,’ रानाले भनिन्, ‘शीप सिकेपछि खाली हात बस्न मन लागेन, व्यवसाय शुरू गरेँ ।’ यसबाट हुने कमाइले घर खर्च चलाएर केही बचत समेत गर्दै आएको रानाले सुनाइन् ।

कुश्मा नगरपालिका–१० पिपलटारीकी नैनकला परियारले महिलाका लुगा सिलाउने पसल सञ्चालन गरेकी छिन् । दुई वर्षअघि टेलरिङ व्यवसाय सञ्चालन गरेकी उनले घरखर्च र छोराछोरीको पढाइ खर्च यसैबाट धानेकी छिन् । ‘श्रीमान्को अस्थायी जागीर छ,’ उनले भनिन्, ‘मेरो कमाइले घर तथा पढाइ खर्च चल्छ । श्रीमान्को कमाइ बचत गर्दै आएका छौं ।’ आफ्नो खुट्टामा उभिन पाएकोमा दंग छिन् उनी ।

पर्वतको कुश्मामा रहेको व्यावसायिक तथा शीप विकास तालीम केन्द्रमार्फत तालीम लिएकाहरूले व्यवसाय थालेर राम्रो आम्दानी गर्दै आएका छन् । कतिपयले तालीमपछि शीप अनुसारको नोकरी समेत गर्छन् । आर्थिक रूपमा विपन्न, दलित, एकल महिला, बेरोजगार युवाले केन्द्रबाट तालीम पाउँछन् ।

वर्षेनि नियमित र मागको आधारमा व्यावसायिक तालीम सञ्चालन गर्दै आएको केन्द्रले बताएको छ । यस वर्ष मात्रै १ हजार २८० जनालाई व्यावसायिक तथा शीप विकास तालीम दिने लक्ष्य रहेको केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्ष नियमित बाहेक अन्य मागको आधारमा सञ्चालन हुने ३० ओटा तालीम सञ्चालन गरिनेछ ।

केन्द्रले पछिल्लो केही वर्षदेखि टेलर मास्टर्स, फेसन डिजाइन, कफी बरिष्टा, मिनी टिलर मर्मत, मन्टेस्सोरी तालीम समेत दिँदै आएको कार्यालय प्रमुख जिसीले बताए । यस वर्ष वैदेशिक रोजगारी छोडेर फर्किएका र कोभिड प्रभावितका लागि समेत तालीम प्रदान गरिएको उनको भनाइ छ । ‘त्यस्ता व्यक्तिलाई प्लम्बिङ, विद्युत् जडान, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, इलेक्ट्रिक सामग्री मर्मत तालीम प्रदान गरिएको छ,’ उनले भने ।

चालू आवमा तालीम सञ्चालनका लागि २ करोड ३ लाख ८० हजार बजेट प्राप्त भएको र ४५ प्रतिशत बजेट खर्च भएको कार्यालयले बताएको छ । कोभिड–१९ का कारण कार्यालयले लक्ष्यअनुसार काम गर्न नपाएकाले हालसम्म ४५ प्रतिशत मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)