ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल लाइफको शेयर खण्डीकरणमा बीमा समितिको रोक

२०७७ चैत, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनमा रोक लगाउने निर्णय गरेको बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि शेयर खण्डीकरण (स्टक स्प्लीट) गर्न नदिने भएको छ । कम्पनीले शेयर खण्डीकरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । तर, बीमा समितिले भने उक्त कम्पनीलाई शेयर खण्डीकरण गर्न नदिनु भन्दै नेपाल धितोपत्र बोर्डमा पत्राचार गरेको छ ।

नेपाल लाइफको गत माघ २८ गते सम्पन्न साधारणसभाले कम्पनीको १ कित्ता शेयरलाई टुक्र्याएर दुई कित्ता बनाउने निर्णय गरेको थियो । हाल कम्पनीको प्रतिशेयर अंकित मूल्य रू. १०० रहेको छ । त्यसलाई दुई टुक्रा बनाएर रू. ५०/५० बनाउने कम्पनीको योजना थियो ।

दोस्रो बजारमा सबै लगानीकर्ताको खरीद पहुँच पुर्‍याउने उद्देश्यअनुरूप शेयर खण्डीकरण गर्न लागेको कम्पनीको भनाइ छ । तर, बीमा समितिले भने त्यसमा रोक लगाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल लाइफको शेयर खण्डीकरण नगर्ने सुझावसहित गत आइतवार धितोपत्र बोर्डमा पत्र पठाएको बताए । ‘कम्पनीले शेयर खण्डीकरण प्रक्रिया अगाडि बढाएपछि यसबारे समितिले अध्ययन गरेको थियो । अध्ययनबाट कम्पनीलाई खण्डीकरण गर्न दिनु उपयुक्त देखिएन,’ उनले भने, ‘यसले दोस्रो बजारमा कम्पनीको शेयर कारोबार तथा शेयर मूल्यलाई प्रभाव पार्ने देखियो । त्यसपछि बोर्डलाई यस्तो सुझाव दिएका हौं ।’

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल पनि कम्पनीको शेयर टुक्राटुक्रा गरेर शेयर मूल्यमा खेल्ने प्रयास भएको बताउँछन् । ‘शेयर विक्री नै नभएको अवस्थामा टुक्रा गरेर विक्री गरौं भन्नु राम्रो नै हो । तर, बजारमा शेयर धमाधम किनबेच भएको छ,’ उनले भने, ‘यो अवस्थामा किन शेयर खण्डीकरण गर्नुपर्‍यो ?’

बीमा कम्पनीहरूले यस्ता विषयमा पहिले नै बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिनुपर्ने उनको भनाइ छ । ‘कम्पनीको सञ्चालक समितिले निर्णय गर्ने र त्यो निर्णय सार्वजनिक गर्ने गर्दा शेयर कारोबारमा विकृति देखियो,’ उनले भने, ‘त्यसैले बीमा कम्पनीहरूले समितिबाट पहिला सैद्धान्तिक सहमति लिनुपर्छ । आवश्यक प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति पनि दिन सक्थ्यौं ।’

कम्पनीले शेयर खण्डीकरण गर्ने मामलामा बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिएको छैन । यद्यपि, यस मामलामा बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिने विषयमा बाध्यकारी व्यवस्था भने छैन ।

‘पहिला त कम्पनीले यस विषयमा हामीलाई आधिकारिक रूपमा जानकारी दिनुपर्छ । त्यो आएपछि हामी निर्णय गर्छाैं,’ उनले भने, ‘तसर्थ, यस्ता विषयमा पहिला सैद्धान्तिक स्वीकृति लिनुपर्ने थियो ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने बीमा समितिबाट यससम्बन्धी पत्र अझै प्राप्त नभएको बताए । उक्त पत्र प्राप्त भएपछि यस विषयमा प्रतिक्रिया दिने उनले बताए । ‘बीमा कम्पनीहरूको नियामक निकाय भनेको बीमा समिति नै हो । यदि समितिले नै कम्पनीको शेयर खण्डीकरण नगर्नु भन्छ भने त्यसमा बोर्डले विचार गर्न सक्छ,’ आर्थिक अभियानसँग उनले भने, ‘पत्र आएपछि मात्र यस विषयमा निर्णय हुनेछ ।’

कम्पनीको शेयर खण्डीकरण गर्ने मामलामा कम्पनी ऐन तथा धितोपत्र ऐनहरूलाई नै आधार बनाएर निर्णय गरिने उनले बताए । शेयर खण्डीकरण गर्ने मामलामा धितोपत्र बोर्डमा कम्पनीबाट आधिकारिक जानकारी आएको छैन । आधिकारिक रूपमा जानकारी आएपछि यस विषयमा निर्णय हुने अध्यक्ष ढुंगनाले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले भने शेयर खण्डीकरण गर्ने प्रक्रिया अगाडि बढाएको बताए । हाल यो प्रक्रिया कम्पनी रजिस्ट्रारको कार्यलयमा पुगेको उनले बताए । त्यहाँबाट स्वीकृति प्राप्त भएपछि बीमा समितिलगायत सम्बद्ध निकायमा प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

raj kumar koirala

[Apr 7, 2021 04:07am]

सत्य तथ्य समाचार मात्रै प्रकासित गर्न मेरो सल्लाह छ / धेरै जनता समाचारकै आधारमा कार्य योजना बनाई अगाडी बढेका हुन्छन / त्यसैले त पत्रिकाको विश्वास गर्दछन / गलत समाचारले पाना त भरिन्छ केहि समय पत्रिका बिक्छ पनि जब अविस्वास पाठकमा पैदा हुन्छ त्यसपछि भएको पाठक पनि गुमाउदै जानु हुन्छ / सत्य तथ्य समाचार मात्रै प्रकासित गर्न मेरो सल्लाह छ /



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)