ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन प्रकृतिको कर्जा प्रवाह बढ्यो

एकै वर्षमा ७५.४८% वृद्धिदर

२०७७ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कर्जाको ब्याजदर एकल अंकमा आएपछि बैंकहरूको शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । विगत वर्षको ८ वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा थप ७५ दशमलव ४८ प्रतिशत वृद्धि भएको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीको कुल वृद्धिदर हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालू आवको फागुनसम्ममा मार्जिन प्रकृतिको कर्जावृद्धि रू. ३२ अर्ब ९४ करोड ५० लाख भएको छ । फागुन मसान्तसम्ममा ८१ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जामा लगानी भएको छ ।

गत आवको सोही अवधिमा यस्तो कर्जा ४६ अर्ब ३९ करोड ६० लाख रुपैयाँमा रहेको थियो । वाणिज्य बैंकको यस्तो कर्जा वृद्धिदर ८९ दशमलव ५३ प्रतिशत रहेको छ । २७ ओटा वाणिज्य बैंकहरूले गत आवको फागुनसम्म ३७ अर्ब १५ करोड १० लाख रुपैयाँ हाराहारीमा ऋण प्रवाह गरेका छन् । चालू आवको गत फागुनमा मार्जिन प्रकृतिको कर्जा  ७० अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ । मार्जिन प्रकृतीको कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरूमा एनआईशी एशिया सबैभन्दा अगाडि देखिएको छ ।

आक्रामक रूपमा कर्जा प्रवाह गर्दै आएको उक्त बैंकले मार्जिन प्रकृतिको कर्जामा ६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ प्रवाह गरेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार समग्र वाणिज्य बैंकको यस्तो कुल कर्जा प्रवाहमा एनआईसीको अंश ८ दशमलव ९९ प्रतिशत छ । अन्य बैंकसँगको तुलनामा एनआईसीले यो कर्जा बढी प्रवाह गरेको देखिए पनि तर बैंकको समग्र कर्जा पोर्टफोलियोमा कम नै भएको एनआईसी एशिया बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुन खनियाँको भनाइ छ । उनका अनुसार पछिल्लो समय सररकारले पूँजी बजारलाई प्रोत्साहन गरेको पनि बैंकहरूले मार्जिन प्रकृतिको कर्जामा लगानी विस्तार गरेका हुन् । ‘बैंकहरूले यसमा गरेको लगानीको फल पनि अहिले पूँजी बजारले देखाइसकेको छ । यसैले सरकारी तह, केन्द्रीय बैंकको नीतिअनुसार नै अलिकति सहज भएकाले केही कर्जा मार्जिन प्रकृतिमा गएको हो,’ उनले भने ।

दोस्रो धेरै लगानी गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । यसले ५ अर्ब ४९ करोड ६ लाख मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम यस्तो प्रकारको कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक देखिएको छ । उक्त बैंकको फागुनसम्ममा यस्तो कर्जा रू. ९ करोड २९ लाख मात्र प्रवाह भएको देखिन्छ । तर, पछिल्लो समयसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकले भने मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छैनन् ।

यसैगरी १९ ओटा विकास बैंकहरूको भने मार्जिन प्रकृतिको कर्जा प्रवाह रू. ८ अर्ब ८३ करोड ८० लाखको हाराहारीमा सीमित छ । तर, गत आवको फागुनसम्मको तुलनामा यो २९ दशमलव २५ प्रतिशत थप वृद्धि भएको हो । गत आवको सो अवधिमा यस्तो कर्जा रू. ६ अर्ब ८३ करोड ८० लाख मात्र प्रवाह भएको थियो ।

वाणिज्य र विकास बैंकको यस्तो कर्जा वृद्धि बढे पनि वित्त कम्पनीको भने घटेको छ । गत आव फागुनमा २ अर्ब ४० करोड ७० लाख प्रवाह भएकोमा ९ दशमलव ९७ प्रतिशतले घटेर रू. २ अर्ब १६ करोड ७० लाखमा सीमीत रहेको छ ।

कर्जाको ब्याजदर कम भएकाले यस्तो लगानी बढेको बैंकरहरू तर्क गर्छन् । विगतमा वाणिज्य बैंकहरूको मात्रै कर्जाको ब्याजदर दोहोरो ब्याजदर अर्थात् १३–१४ प्रतिशतसम्म पुग्ने गरेकोमा अहिले एकल विन्दुमा झरेको पनि लामै समय भइसकेको छ । बैंकहरूको कर्जाको ब्याजदर अधिकतम ८ प्रतिशतदेखि ९ प्रतिशतसम्मको बीचमा रहेको बताउँदै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी ब्याजदर घटेकै कारण मार्जिन प्रकृतिको कर्जा बढेको तर्क गर्छन् ।

बैंकरहरूले भने जस्तै पछिल्लो समय प्रत्येक दिन अर्बौंको शेयर कारोबार हुँदा नेप्से परिसूचक पनि गतवर्षको तुलनामा उच्च विन्दुमा पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)