चैत २८, धनगढी कैलाली र कञ्चनपुरभित्र ४३९ किलोमिटर लामो सडक निर्माण गरिदैंछ । यसका लागि संघीय सरकारले ८ निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि बजेट विनियोजन गरेको हो ।
दुवै जिल्लाभित्र ८ ओटा रणनीतिक सडक निर्माणका लागि बजेट विनियोजन गरिएको भएपनि अख्तियारी भने अझै प्राप्त भइनसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगर (कञ्चनपुर)ले जानकारी दिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत दुवै जिल्लाका ८ निर्वाचन क्षेत्रमा सडकहरु छनोट भएको कार्यालयले बताएको छ ।
कैलालीमा २१४ किलोमिटर र कञ्चनपुरमा २२५ किलोमिटर सडक निर्माणका लागि प्रति सडक निर्माणका लािग भन्दै २५/२५ करोडका दरले बजेट विनियोजन गरिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण जोशीले जानकारी गराए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ भित्र ३३ किलोमिटर लामो महेन्द्र राजमार्गको बलचौरदेखि कटासे पूर्वी खैरी मोटिया जगतपुर हुँदै टीकापुर जोड्ने सडक निर्माणका लागि छनोट गरिएको छ ।
कार्यालयका ईन्जिनियर समेत रहेको जोशीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ११० किलोमिटर लामो चिसापानी–कुहिने–सोल्टा–ताम्चा र कोल्तडी हुँदै खिचडी सडक, क्षेत्र नम्बर ३ मा भारतसँग जोड्ने गरी २३ किलोमिटर पहलमानपुर–लालबोझी सडक निर्माणका लागि छनोटमा परेको जानकारी गराए ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा २३ किलोमिटर लामो चौमाला गर्भा दरबार रिठे खोला शिवनगर सडक र क्षेत्र नम्बर ५ मा २५ किलोमिटरको कैलाली खुटिया पुल उर्मा भादा देवीगञ्ज गदरिया २५ घर फूलबारी सडक छनोट भएको छ । उता कञ्चनपुरमा ७० किलोमिटर लामो सडक निर्माणका लागि निर्वाचन क्षेत्र नम्बर १ को पुनवार्स नगरपालिकाको वडा नम्बर १०, लालझाडी–बेलौरी हुँदै गोविन्द गौतम चोक जोड्ने सडक पनि सो कार्यक्रमका लागि छनोट भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा वेदकोट औद्योगिक क्षेत्र चाँदनीफाटा जडेपानी भम्का धरमपुर हुदै पिपलथला जोड्ने ७५ किलोमिटर सडक र क्षेत्र नम्बर ३ मा ८० किलोमिटर लामो ब्रह्मदेव तिलकपुर रौटेला बागफाँटा गोबरिया बडैपुर सडक परेको सूचना अधिकारी जोशीले बताए ।
प्रत्येक सडक निर्माणका लागि २५ करोडका दरले बजेट विनियोजन भएको बताइएपनि हालसम्म अख्तियारी प्राप्त नभएको इन्जिनीयर जोशीले बताए । सडक निर्माणका लागि बजेट विनियोजन गरिएको भएपनि अधिकांश सडकको विस्तृत पयिोजना प्रतिवेदन (डीपीआर) निर्माण भने अझै हुन सकेको छैन । यसका लागि आवश्यक तयारी अघि बढाइसकेको डिभिजन कार्यालयको भनाइ छ ।