ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकल बीमामा कडाइ : एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने

२०७७ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अब बीमितले एकल बीमा पोलिसी किनेकोे ३ वर्षसम्म बीमालेख सरेन्डर (त्याग) गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन पनि नपाउने व्यवस्था गरिएको छ ।

बीमा समितिले गत हप्ता १९ जीवन बीमा कम्पनीहरूलाई आन्तरिक रूपमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रअनुसार अब बीमा कम्पनीहरूले एकल बीमा पोलिसी विक्री गरेको ३ वर्षसम्म ग्राहकबाट सरेन्डर लिन पाउने छैनन् । साथै, पोलिसी विक्री गरेको सोही अवधिसम्म पनि बीमालेख धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि एकल बीमा पोलिसी विक्री गरेको २ वर्षपछि मात्र बीमालेख धितो राखेर कर्जा दिने पाइने व्यवस्था थियो । तर, पोलिसी सरेन्डरको विषयमा कुनै समयसीमा तोकिएको थिएन । अहिले बीमा समितिले ३ वर्षपछि मात्रा पोलिसी सरेन्डर गर्न पाउने र बीमालेख धितो राखेर कर्जा पाउने व्यवस्था गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकल बीमा पोलिसीमा विकृति बढेपछि यस्तो व्यवस्था गरिएको बताए । एकल बीमा पोलिसीमा सरेन्डरको मात्रा बढेपछि यस्तो कदम उठाइएको उनको भनाइ छ ।

‘यस्तो बीमा योजनामा ग्राहकले छोटो समयमा नै पोलिसी सरेन्डर गरेको देखियो । अब छोटो समयमा नै पोलिसी सरेन्डर गर्ने भए बीमा गर्न आवश्यक किन ? यसरी बीमा गर्नुको महत्त्व देखिएन,’ आर्थिक अभियानसँग उनले भने, ‘त्यसैले पोलिसी सरेन्डरमा समय सीमा तोकेका हौं ।’ पोलिसी सरेन्डरमा समयसीमा नतोक्दा समस्या देखिएको बताइएको छ । एकल बीमालेख धितो राखेर अव्यवस्थित रूपमा कर्जा प्रवाह गरेपछि त्यसमा पनि समय सीमा तोकिएको समितिको भनाइ छ ।

ग्राहकले तिर्नुपर्ने सम्पूर्ण बीमाशुल्क वार्षिक किस्तामा नभएर एकैपटक भुक्तानी गरिने बीमा नै एकल बीमा हो । तर, यस्तो बीमामा पछिल्लो समय विभिन्न विकृति देखिन थालेको थियो । त्यसपछि बीमा समितिले केही समयअघि गत फागुनमा जारी भएका एकल बीमा पोलिसीहरूको विवरण पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

कम्पनीहरूबाट प्राप्त विवरणसहित थप अध्ययन गरेर समितिले यस्तो निर्णय गरेको हो । अध्ययनको क्रममा बीमा कम्पनीहरूले तोकिएभन्दा बढी पोलिसी जारी गरेको, बीमा कम्पनीहरूले पहिलो वर्ष बीमा गराएर दोस्रो वर्ष सरेन्डर गराउनेजस्ता विकृति देखिएको थियो । त्यसैले एकल बीमा पोलिसीको व्यवसायलाई थप कडाइ गरिएको बीमा समितिका एक उच्च अधिकारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)