ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिले अघि बढेको शेयरबजार : १ वर्षमा १ हजार ४६३ विन्दु माथि उक्लियो

२०७७ बैशाख, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा पुगेको हो ।

शेयरबजारले गति लिनुअघि निरन्तर ३ वर्षभन्दा बढी समय बजार ओरालो लागेको थियो । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार ४६३ दशमलव ३४ अंक माथि पुगेको छ । गतवर्ष चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो । बन्दाबन्दीका बीच वैशाख ३० र ३१ गते खुलाइएको बजार दुवै दिन नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बन्द गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९८ दिन बजार बन्द गर्नुपरे पनि अनलाइन कारोबार प्रणाली अनिवार्य गरेसँगै बजारले गति लिएको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरिएको बन्दाबन्दी हुनुपूर्व चैत १० गतेदेखि नै शेयरबजार बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली पूर्णरूपमा प्रयोग नहुँदा गतवर्ष ९८ दिन बजार नै बन्द गर्नुपरेको हो । असार १ गतेदेखि देशमा जारी बन्दाबन्दीको अवस्था खुकुलो भए पनि धितोपत्र दोस्रो बजार भने १५ दिनपछि मात्र खुलेको थियो । प्राथमिक बजार भने असार ७ गतेदेखि  प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर सार्वजनिक निष्कासन गरेसँगै सुचारु भएको थियो ।

बजार सञ्चालक नेप्सेले ९८ दिनसम्म बजार बन्द गरी पूर्ण अनलाइन कारोबार प्रणालीका लागि थप गर्नुपर्ने आवश्यक सम्पूर्ण व्यवस्था गरेको थियो । देशभरका नागरिक घरभित्रै बसेर शेयर कारोबार गर्न सकिने वातावरण पनि बन्दाबन्दीकै अवधिमा बजारसम्बद्ध निकायहरूले तयार गरेका थिए ।

पूर्ण अनलाइन कारोबार प्रणालीकै कारण बन्दाबन्दीका बीच पनि नेपालको शेयरबजारले ऐतिहासिक विन्दुसँगै कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो १ वर्षमा नेप्सेमा एकै दिन रू. १० अर्ब ६१ करोड ९१ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेमा कारोबार रकमको ऐतिहासिक रेकर्ड २०७७ साल माघ २६ गतेको कारोबार दिनले रचेको हो ।

गतवर्षको चैत ९ गतेसम्म नेपालको शेयर बजारको कुल पूँजीकरण रू. ५ खर्ब ८२ अर्ब ४ करोड ८३ लाख ८२ हजार थियो । १ वर्षको अवधिमा यो रकम रू. ३१ खर्ब ७६ अर्ब ६४ करोड ९१ लाख ८९ हजारले बढेको छ । चैत ३१ गतेसम्म नेपालको शेयर बजारको कुल पूँजीकरण रू. ३७ खर्ब ५८ अर्ब ९७ करोड ५० लाख ७१ हजार कायम भएको हो । यी आधार हेर्दा साँच्चै नेपालको शेयर बजारले १ वर्षमा काचुली फेरेको देखिन्छ । नेप्सेका अनुसार चैत ३० गतेसम्म दोस्रो बजारमा कारोबारका लागि ६ लाख ९४ हजारभन्दा बढी आबद्ध भएका छन् । यीमध्ये ५ लाख ७६ हजारभन्दा बढी अनलाइन कारोबार प्रणालीसँग जोडिएका छन् । एक वर्षअघि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुनेको संख्या १ लाखभन्दा कम थियो ।

दोस्रो बजारले गति लिएसँगै प्राथमिक बजारमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । हाल धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खाता खोल्नेको संख्या ३४ लाख २ हजार २०३ पुगेको छ । तर, सक्रिय लगानीकर्ता १५ लाखभन्दा बढी मात्र छन् ।

पछिल्लो समय आईपीओ विक्री गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको थियो । यस आधारमा हितग्राही खाता खोलेकामध्ये ४६ दशमलव २६ प्रतिशतको मात्र सक्रिय सहभागिता रहेको देखिन्छ । एक व्यक्तिको लागि एउटा मात्र हितग्राही खातालाई प्राथमिकतामा राखिएको भए पनि हाल एकभन्दा बढी ८ ओटासम्म हितग्राही खाता खोलिएको जानकारी सीडीएससीले दिएको छ ।

नियामक र बजार सञ्चालकको प्राथमिकता
बजार विस्तारका लागि नियामक निकाय र बजार सञ्चालकले आवश्यक पहलहरूलाई अघि बढाइरहेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजीबजारमा भिœयाउन बुक विल्डिङ विधिलाई लागू गरिसकेको छ । यस विधिबाट सबैभन्दा पहिला सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्ने तयारी गरेको छ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको आईपीओ पछि वास्तविक क्षेत्रका अन्य कम्पनीहरूलाई पनि यस क्षेत्रमा प्रवेश गर्ने अभ्यास प्राप्त हुने बताए । बजारको थप विकास र विस्तारका लागि ढुंगानाले प्रविधिकै विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

अनलाइन कारोबार प्रणालीकै कारण शेयरबजारले कोभिडको असरका बीच पनि ऐतिहासिक रेकर्ड कायम गरेकाले नेप्सेले आफ्नो सिष्टमलाई भरपर्दो र प्रभावकारी बनाउन पनि सुझाव दिएका छन् । शेयर कारोबारसँग सम्बद्ध संस्थाहरूको संरचना परिवर्तनलाई पनि बोर्डका अध्यक्ष ढुंगानाले जोड दिएका छन् । उनले नेप्सेको विकल्पमा अर्को स्टक एक्सचेन्ज स्थापनको आवश्यकतालाई पनि औंल्याएका छन् । पछिल्लो समय शेयरबजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएकाले देशभरका जनतामा पूँजी बजारको पहुँच विस्तारका लागि बैंकहरूको सहायक कम्पनीलाई भन्दा पनि बैंकहरूमा नै ब्रोकर सेवा कसरी दिन सकिनेमा बोर्डले छलफल गरिरहेको समेत ढुंगानाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)