ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमामा करीब ६ अर्ब भुक्तानी

२०७८ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा)मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् ।

बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।

आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् ।

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको हो । तर, अहिले नियमित रूपमा भुक्तानी भइरहेको छ,’ उनले भने, ‘दाबी पाउन योग्य सबैले भुक्तानी पाउनेछन् ।’

कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू. ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ । तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन् ।

यद्यपि, बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयसँग ३ अर्ब रकम माग गरेको छ । उक्त रकम निकासीको प्रक्रियामा रहेको पौडेलले बताए । सरकारबाट रकम प्राप्त भएपछि दाबी भुक्तानी थप दु्रत गतिमा अगाडि बढ्ने उनको भनाइ छ ।

चालू आवको बजेटमै कोरोना बीमाको दायित्व सरकारले बेहोर्ने व्यवस्था छ । त्यसअनुसार साढे ३ अर्ब रुपैयाँ माथिको भुक्तानी सरकारबाट हुने व्यवस्था गरिएको हो । त्यसभन्दा तलको भुक्तानी भने बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट गर्ने व्यवस्था गरिएको थियो ।

कोरोना बीमाको दाबी भुक्तानीमा साढे १ अर्ब २० निर्जीवन बीमा कम्पनी तथा बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीको १/१ अर्ब दायित्व थियो । त्यसबापतको दाबी भुक्तानी उनीहरूबाट भइसकेको छ ।

बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरू गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)