ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित

२०७८ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो । कोटा वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको थियो ।

कोटा वितरण स्थगनका बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई सोध्न खोज्दा उनको फोन उठेन । विभागका प्रवक्ता शिवराज सेढाईंले यसबारे आफूलाई जानकारी नभएको बताए ।

सीमित कोटामा माग बढी भएकाले दबाब थेग्न नसकेर स्थगित गर्नुपरेको विभाग सम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार सम्बद्ध मन्त्रालय र व्यापारीको दुईतर्फी दबाबका कारण विभागले कोटा वितरण स्थगित गरेको हो ।

‘एकातिर उच्च राजनीतिक तहबाट सीमित व्यापारिक फर्मलाई कोटा दिन दबाब आइरहेको छ । अर्कातिर अरू व्यापारीले विभागका महानिर्देशकलाई कोटा माग्दै घेराउ गरेका छन् । यस्तोमा विवादित भएप्छि स्थगित गर्नुपरेको हो,’ स्रोतले भन्यो ।

सरकारले गतवर्ष चैत तेस्रो साता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्ले गत फागुन २५ गते परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेको थियो ।

सत्तानिकट केही व्यापारीसँगको सेटिङमा कोटा वितरण गरिएको भन्दै व्यापारीहरू नै संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी गर्न पुगेका थिए । समितिले यसबारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यसबारे स्पष्टीकरण सोधेको थियो ।

आयात खुलाइएकामध्ये सुपारीको कोटा सबैभन्दा बढी विवादित बनेको छ ।  आर्थिक चलखेलमा पाँचओटा व्यापारिक घरानालाई मात्रै कोटा दिइएको आरोप लागेको छ ।

विभागले सुपारीको कोटा बाँडिसकेको छ । केही परिमाणमा केराउको पनि कोटा वितरण भइसकेको छ ।

कोटा पाएका व्यापारीले आयातका लागि प्रतीतपत्र (एलसी) खोलिसकेका छन् ।

मन्त्रालयले चैत ९ गते आयात खुलाइएको सूचना निकालेको थियो । त्यसको भोलिपल्टै चैत १० गते सुपारीको कोटा वितरण गरिएको थियो । तर, विभागले चैत १६ गते ८५ निवेदनबाट २ लाख २७ हजार २७० मेट्रिकटन (मेट) सुपारी आयातको माग भएको भन्दै कागजात पुर्‍याउन सूचना निकालेको थियो । आयात खुलाइएको सूचनाको भोलिपल्टै केही व्यापारिक फर्मलाई कोटा दिइनु र सातौं दिन (चैत १६ गते) सूचना निकालेर आवश्यक कागजपत्र मागिनुले मिलेमतोको आशंका बलियो बनेको छ । सेटिङमा पहिल्यै कोटा वितरण गरिसकेर औपचारिकताको लागिमात्रै सूचना निकालिएको आरोप असन्तुष्ट व्यापारीले लगाएका छन् । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि २५ हजार मेट सुपारी, ८० हजार मेट केराउ, छोकडा ५ हजार मेट र मरीच १५ हजार मेट कोटा निर्धारण गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)