ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियत कर्जामा धितो माग

कृषिमा १.५% विनाधितो कर्जा

२०७८ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सहुलियतपूर्ण कर्जाअन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा पनि बैंकहरू धितोको माग गर्छन् । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजअनुदानको कृषिका लागि जारी कुल सहुलियतपूर्ण कर्जाको १ दशमलव ८ प्रतिशतमात्रै विनाधितो लगानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा कुल रू. ८८ अर्ब २९ करोड २३ लाख कर्जा प्रवाह भएको छ । यसमध्ये रू.१ अर्ब ६० करोड मात्र बीनाधितो कर्जा दिइएको हो । बाँकी रू. ८६ अर्ब ६९ करोड १५ लाख बराबरका सहुलियत कृषि कर्जा धितोमा मात्रै प्रवाह भएको छ ।

फागुनसम्म ब्याज अनुदानको व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय कर्जाबाट ३८ हजार ३ सय ५५ जना लाभान्वित भएका छन् । एकै महीनामा थप २ हजार ५ सय ४२ जनाले यस्तो कर्जा लिएका छन् । विनाधितो कर्जा प्रवाह रकम कम भए पनि ऋणी संख्या र कुल कर्जा प्रवाह कृषिक्षेत्रमा अधिक गएको छ ।

विनाधितो सहुलियत कृषिकर्जा बढी प्रवाह गर्ने बैंकमा सरकारी स्वामित्वका बैंकहरू अगाडि देखिन्छन् । यसमा पनि अधिक अंश कृषि विकास बैंकको देखिन्छ । समग्र बैंकबाट विनाधितो १ अर्ब ६० करोड कर्जा प्रवाह भएकामा १ अर्ब रुपैयाँभन्दा बढी कृषि विकास बैंकको मात्रै रहेको छ । कृषि विकास बैंकका प्रवक्ता हेमलाल पौड्यालले बैंकले रू. ५ लाखदेखि १५ लाखसम्म करीब १ हजार ६ सय जनालाई विनाधितो कर्जा दिएको जानकारी दिए । ‘राज्यको कार्यक्रम भएकाले घाटा भए पनि जोखिम भए पनि विनाधितो कर्जा दिएका हाैं,’ उनले अभियानसँग भने ।

विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा शीर्षकमा ३ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था छ । कृषिमा ५ करोडसम्म यस्तो कर्जा बैंकले दिन सक्छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल कर्जा तिर्न नचाहने वा नसक्नेले प्रायः धितो नराख्ने भएकाले बैंकलाई सहज होस् भनेर धितो लिने गरेको बताउँछन् ।

धितोमै कर्जा दिन पाएपछि विनाधितो दिन नचाहनु स्वाभाविक भएको नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली स्वीकार गर्छन् । ‘विनाधितो कर्जा दिएर किन जोखिम लिनु भन्ने मानसिकता छ,’ उनले अभियानसँग भने, ‘राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकको हकमा सहुलियतपूर्ण कर्जा प्रतिशाखा १० ओटा अर्थात् वर्षभरि ५ सयओटा दिनुपर्ने व्यवस्था छ । पाएसम्म धितोमै यस्तो कर्जा दिन्छौं । केन्द्रीय बैंकले धितोमा लिन पाइँदैन भनेको छैन ।’ धितो राखेर कर्जा लिन आउने ग्राहकले पाउने सम्भावना पनि बढी हुने उनको भनाइ छ ।

सहुलियत कर्जाका विभिन्न १० शीर्षकमा फागुनसम्ममा ७७ हजार १ सय ९८ ऋणीमा सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । रू. १ खर्ब २४ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ । गत माघसम्ममा यस्तो कर्जा लिने ऋणी ६८ हजार २ सय ६ थिए । रू. १ खर्ब १२ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ ।

कृषि तथा पशुपक्षी व्यवसाय कर्जाबाहेक सबैभन्दा बढी कर्जा महिला उद्यमशीलतामा गएको छ । ६ प्रतिशत ब्याज अनुदानमा महिला उद्यमीलाई बैंकहरूले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् ।

फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ३६ हजार ७ सय ६३ पुगेको छ । यसअवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । गत माघमा यस्तो ऋणी संख्या ३० हजार ४ सय ६५ थियो । यसअवधिमा २७ अर्ब ५ करोड रुपैयाँ बराबरको कर्जा उपयोग भएको थियो ।

सहुलियत कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा चालू आवको ८ महीनासम्ममा १ सय ३२ जनामा ६ करोड १० लाख रुपैयाँ ऋण बक्यौता रहेको छ । यस्तो कर्जामा प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई कर्जा दिँदा जोखिम हुनसक्ने बैंकरहरू तर्क गर्छन् ।

‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ६ सय ७९ को संख्यामा रू. ५१ करोड ३७ लाखको ऋण बक्यौता रहेको छ । गत पुसमा ५ सय ३९ को संख्यामा रू. ४ करोड २ लाखको ऋण बक्यौता रहेको थियो । शिक्षित युवा स्वरोजगार कर्जा रू. ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू. १० लाखसम्म लिन पाइने व्यवस्था छ ।

दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ७ सय ३३ ओटा ऋण प्रवाह भएको छ । रू. ४५ करोड ६ लाख कर्जा बक्यौता रहेको छ ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाअन्तर्गत हालसम्म ८८ ओटा कर्जा प्रवाह भएको छ । ३ करोड ३३ लाख रुपैयाँ बक्यौता रहेको छ । यो कर्जा पनि खासै उत्साहजनक रूपमा बढेको छैन । यो गत माघपछि बढ्न सकेको छैन । अझै यो गत पुसभन्दा माघमा थप एक जना मात्रै बढेको थियो ।

भूकम्प पीडितहरूको निजी आवास बनाउने कर्जा लिनेको संख्या भन्दा पनि लिएर तिर्नेको संख्या बढेको छ । सरकारले यो सुविधा दिएको धेरै समय भएकाले कर्जा उपयोग गरेर चुक्ता गर्नेहरू पनि छन् । यसैले माघमा यस्तो ऋणी संख्या २ सय ३८ जना भएकोमा फागुनमा २ सय ३७ मात्रैरहेको छ । सरकारले पछिल्लो समय कपडा उद्योगहरूलाई प्रवर्द्धन गर्न दिएको सहुलियतपूर्ण कर्जाअन्तर्गत २ सय ५ जना उद्योगीले यस्तो सुविधा उपयोग गरेका छन् । सो संख्यामा रू. १ अर्ब ९२ करोड ५६ लाख बराबरको कर्जा बक्यौता रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)