ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारीमा बीमा समिति

चित्तबुझ्दो जवाफ नआए पदमुक्त : समिति

२०७८ बैशाख, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लगानी निर्देशिकाभन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा निलम्बन भएका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले स्पष्टीकरण पनि सोध्ने तयारी गरेको छ । समितिले गत शुक्रवार अग्रवाललाई कम्पनीको सञ्चालक सदस्यबाट निलम्बन गरेको थियो । अब, छिट्टै स्पष्टीकरण पनि सोध्ने बीमा समितिको तयारी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भएको बताए । ‘नियमनको क्रममा लगानी निर्देशिकाले तोकेको भन्दा बाहिर गएर लगानी गरेपछि केही दिनअघि मात्रा कम्पनी सञ्चालक सदस्य अग्रवाललाई निलम्बन गरेका थियौं । अब छिट्टै यस सम्बन्धमा स्पष्टीकरण पनि सोध्नेछौं,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पूरा गरेर पदमुक्त गर्न पनि सकिनेछ ।’ चित्तबुझ्दो जवाफ आएमा यस निर्णयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।

समितिको स्थलगत निरीक्षणका क्रममा कम्पनीले लगानी निर्देशिका २०७५ भन्दा बाहिर गएर शेयरबजारमा लगानी गरेको देखिएपछि अग्रवाललाई निलम्बन गरेको थियो । अग्रवाल कम्पनीको सञ्चालक सदस्य मात्र नभएर लगानी समितिका संयोजक पनि हुन् । उनकै संलग्नतामा लगानीसम्बन्धी अनियमितताहरू भएको बीमा समितिको भनाइ छ ।

‘कम्पनीमा स्थलगत निरीक्षण गर्दा अग्रवालको संलग्नतामा विभिन्न अनियमितता भएको देखियो । त्यसपछि लगानी समितिको संयोजक भएको नाताले अग्रवाललाई नै निलम्बन गरेका हौंं,’ उनले भने, ‘अब छिट्टै स्पष्टीकरण पनि सोध्नेछौं ।’

समितिले गत चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको प्रतिवेदनले अग्रवालकै संलग्नतामा लगानीसम्बन्धी अनियमितता भएको समितिले बताएको छ ।

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म रकम धितोपत्र बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछ । तर, जनरल इन्स्योरेन्सले त्यो सीमाभन्दा माथि गएर लगानी गरेको निरीक्षणको क्रममा देखिएको छ ।

बीमा कम्पनीहरूले तोकिएको लगानीको सीमा प्रत्येक दिन नै कायम हुनुपर्ने छ । तर, गत चैत २३ गतेसम्म कम्पनीले तोकिएको सीमा पनि कायम नहुने गरी लगानी गरेको पाइएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

कम्पनीले आव २०७६/७७ को अन्तसम्म कायम टेक्निकल रिजर्भको ६४ प्रतिशतसम्म लगानी गरेको छ । आव २०७५/७६ को अन्तसम्म कायम टेक्निकल रिजर्भको पनि अधिकांश रकम शेयरमा नै लगानी गरेको समितिको भनाइ छ ।

गत मङ्सिर २६ गते यता कम्पनीको लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता उपसमितिको बैठक नै बसेको छैन । तर, यस अवधिमा पनि कम्पनीले लगानी गरेको निरीक्षणका क्रममा भेटिएको छ । ‘यसरी लगानीका मामलामा अनियमितता देखिएपछि यस्तो कदम उठाउन परेको हो,’ कार्यकारी निर्देशक पौडेलले भने ।

समितिले लगानी विभागका कर्मचारीलाई पनि आवश्यक कारबाही गर्न कम्पनीलाई पत्राचार गरेको छ । समितिका कार्यकारी निर्देशक पौडेलले विभागका कर्मचारीलाई पनि कारबाही गर्न कम्पनीलाई पत्राचार गरिएको बताए । ‘यस मामलामा विभागका कर्मचारीको पनि संलग्नता हुन सक्छ । त्यस्ता कर्मचारीलाई पनि कारबाही गर्न कम्पनीलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘अब कुनकुन कर्मचारीलाई कारबाही गर्ने हो त्यो कम्पनीको हातमा छ । यद्यपि, यसका जानकारी बीमा समितिलाई हुनुपर्ने छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)