ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँपालिकाको भवन बनाउन साढे १२ रोपनी जग्गा व्यवस्थापन

२०७८ बैशाख, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन बनाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । २३ जना जग्गाधनीमार्फत गाउँपालिकाका लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो ।

भवन लगायत पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नव शहरी बस्ती विकासको अवधारणा अनुसार जग्गाधनीको मञ्जुरीनामा लिएर जग्गा व्यवस्थापनको काम गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिए । उनका अनुसार २३ जना जग्गाधनीको ३२ कित्तामा रहेको २४ रोपनी जग्गाबाट गाउँपालिकाका लागि साढे १२ रोपनी जग्गा व्यवस्थापन भएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय भवन, सभाहल लगायत पूर्वाधार निर्माणको प्रयोजनका लागि ९ जनाले साढे ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । त्यसैगरी १४ जना जग्गाधनीले घडेरी लिनेगरी आफ्नो जग्गा गाउँपालिकालाई उपलब्ध गराएका हुन् ।

२४ रोपनी जग्गा रेखांकन गरिएकोमध्ये सडक विस्तारमा ६ रोपनी, घडेरी फिर्तामा साढे ५ रोपनी र साढे १२ रोपनी गाउँपालिकाका लागि व्यवस्थापन गरिएको समितिका सचिव मुकुन्द शर्माले बताए । गाउँपालिकाले बीचमा जग्गा पर्नेहरूलाई ८ मिटर फराकिलो सडक र बिजुलीको पोल समेतको पूर्वाधार तयार भएको घडेरी बनाएको छ । गोलापोलामार्फत घडेरी पाउनेहरूको स्थानको टुंगो लगाइसकिएको र जग्गा रजिष्टे«शनको प्रक्रियामा गएको गाउँपालिकाले बताएको छ ।

सबै जग्गाधनीको मञ्जुरीनामा लिएर काम गरिएको र जग्गा व्यवस्थापनको अधिकांश काम सम्पन्न भए पनि केही जग्गाधनी देश बाहिर रहेकाले पूर्णता पाउन ढिलाइ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । जग्गा व्यवस्थापनमा अहिलेसम्म १ करोड ४६ लाख खर्च भएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका लागि उपयुक्त स्थानमा जग्गा व्यवस्थापन भएकाले निकट भविष्यमै प्रमुख प्रशासकीय भवन निर्माण योजना अघि बढ्ने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)