ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ सोलार प्लान्टलाई निर्माणको अनुमति

२०७८ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।

विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।

सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा कुल १४.७७ मेगावाट क्षमताको ३ ओटा सोलार प्लान्ट बनाउने गरी अनुमति पाएको छ । यसबाहेक अन्य सबै निजीक्षेत्रका कम्पनी हुन् । प्राधिकरणले नुवाकोटमा कुल २५ मेगावाटको सोलार प्लान्ट बनाउँदै छ । प्राधिकरणले प्लान्टअनुसार छुट्टाछुट्टै ब्लक बनाएर लाइसेन्स लिँदै आएको छ । अर्काे १० दशमलव ३३ मेगावाट क्षमता बराबरको प्लान्ट भने सर्वेको चरणमा रहेको छ ।

१७ आयोजनाले निर्माणको अनुमति पाए पनि हालसम्म ३ सोलार प्लान्ट मात्रा सञ्चालनमा आएका छन् । १० मेगावाटको मिथिला सोलार प्लान्ट, ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्ट र प्राधिकरणको ११ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा आएका छन् । काठमाडौं खानेपानी लिमीटेडको शून्य दशमलव ६८ मेगावाट सोलार प्लान्ट (काठमाडौं) र सूर्य पावर कम्पनीको १ मेगावाटको विष्णु प्रिय सोलार फर्म (नवलपरासी) पहिलेदेखि नै सञ्चालनमा छन् ।

अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट (मेवा) क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना पनि वैशाख महीनाभित्र सञ्चालनमा आउने तयारीमा छ । अहिले त्यसको अन्तिम चरणका काम द्रुत गतिमा भइरहेको कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा जडान हुनेछ । यही कम्पनीले ढल्केबर र सिमरामा १/१ मेवा क्षमताको अर्को आयोजना पनि निर्माण शुरू गरेको छ । ती आयोजना केही महीनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

सोलार प्लान्ट आयोजनाले पाउने निर्माण अनुमतिपत्रको अवधि २५ वर्षको हुन्छ । त्यसपछि आयोजना सरकारको स्वामित्वमा आउने विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

सिंहले पछिल्लो समय सोलार प्लान्टतर्फ ऊर्जा व्यवसायीहरूको आकर्षण बढेको बताए । ‘जलविद्युत्भन्दा सोलार प्लान्ट बनाउन सस्तो पर्छ । पीपीए दर पनि यसमा राम्रो रहेको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि यसप्रति आर्कषण बढ्दो छ ।’

यसको निर्माणमा चुनौती पनि रहेको उनको भनाइ छ । ‘जहाँ पायो त्यही यो आयोजना बनाउन सकिँदैन । प्लान्ट बनाउने जग्गा भाडा पनि महँगो हुन्छ,’ उनले भने, ‘त्यसमाथि प्रसारणलाइन पहुँच पनि राम्रोसँग हुदैन । त्यसले यस्ता आयोजना बनाउन चनौतीपूर्ण छ । तर, आर्कषण पनि राम्रो छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)